काठमाडौँ– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभा बैठकबाट विश्वासको मत लिन लागेका छन् । एमालेसँग गठबन्धन गरेर सत्ता सम्हालेका बानियाँलाई बहुमतका लागि ५६ मत चाहिन्छ, भने कांग्रेस र एमाले गरी ६४ मत उनको पक्षमा छन् ।
पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा पार्टी केन्द्रको लाइन विपरित अलोकतान्त्रिक बाटोमा ढिट कसिरहेका छन् ।आफ्नो पद फुस्किए पनि आफ्नो पक्षका केही सांसदहरुलाई मन्त्री बनाउनु पर्छ भन्दै अड्डी कसिरहँदा कांग्रेस पार्टीमै आलोचित बनिरहेका उनी पार्टी नेतृत्वको आदेश विपरित हिडिरहेका छन् ।
लोकतान्त्रिक पार्टीमा अलोकतान्त्रिक गतिविधि गरेको भन्दै पार्टीभित्रै एक्लिरहेका लामा आफ्नो हठबाट पछि नहट्दा उनको भावी राजनीतिमाथि नै गम्भीर प्रश्नचिञ्ह खडा भएको छ । आज उनी विश्वासको मतको निर्वाचनमा मुख्यमन्त्री बानियाँकै पक्षमा खुलेर लाग्ने भन्दै यसअघि लामा पक्षमा देखिएका अधिकांश सांसदहरु हेटौंडा गइरहँदा लामालाई थप दबाबा पुगेको छ ।
यसबीच, पार्टी सभापति शेरबहादुर देउवाले हस्तक्षेप गर्दै लामासमूहलाई कडा निर्देशन दिएका छन्। देउवाले स्पष्ट रुपमा मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन र मन्त्रीको बार्गेनिङ नगर्न निर्देशन दिएका छन् ।
उता बानियाँनिकट सांसद र कांग्रेस संसदीय दलका प्रवक्ता सुरजचन्द्र लामिछानेले ह्विप जारी भइसकेकाले असहयोग गर्न खोज्नु अनुशासनविपरीत हुने बताएका छन्। बानियाँले लामा मुख्यमन्त्री हुँदा समर्थन गरेको स्मरण गराउदैँ उनले अहिले सोही सहकार्यको अपेक्षा गरिएको बताए ।
अहिले देउवाको कडा सन्देशपछि लामासमूहले पछाडि हट्ने कि मत नदिने अडानमै अडिने भन्नेमा चासो बढेको छ। केही घण्टामै बानियाँको विश्वासको मतको परिणाम आउँदैछ, जसले कांग्रेसभित्रको शक्ति सन्तुलन पनि निर्धारण गर्न सक्छ।



























































