काठमाडौँ – ‘कुलिङ पिरियड’ प्रकरणमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार प्रतिनिधिसभामा विशेष सम्बोधन गर्दै खतिवडाले समितिको सभापति पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
कुलिङ पिरियड प्रकरणमा बनेको संसदीय छानबिन समितिले खतिवडा पनि जिम्मेवार भएको ठहर गरेपछि दबाबमा आएका खतिवडाले अन्ततः नैतिकता देखाएको जिकिर गर्दै राजीनामा दिएका हुन् । ‘म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट हाँसीहाँसी राजीनामा दिएको घोषणा गर्छु ।’
खतिवडाले विधेयकको प्रतिवेदनमा आफूले हस्ताक्षर गरेकाले आफूले पनि जिम्मेवारीबोध गर्नुपर्छ भन्ने लागेकै कारण विधेयकमा त्रुटि भएको भन्ने थाहा पाउने बित्तिकै सभापतिको हैसियतमा प्राप्त गाडीलगायत सुविधा सचिवालयमा बुझाएको बताए ।
विधेयक प्रतिवेदन तयार हुँदा त्रुटी हुन गएको स्वीकार गरे पनि खतिवडाले उक्त त्रुटी आफू वा राज्य व्यवस्था तथा सुशासन समितिबाट नभएको जिकिर गरे । उनले प्रश्न गरे, ‘आशंकापूवर्क प्रतिवेदनको अध्ययन नगर्नु मेरो मात्रै त्रुटी रह्यो कि संसदको पनि त्रुटी रह्यो ? छानबिन होस् ।’
उनले निजामती विधेयकमा कुलिङ सपपरियड राख्नुपर्छ भन्नेमा आफू सँधै रहेको जिकिर गरे । उनले भने, ‘म आफै पनि कुलिङ पिरियड जसरी पनि राख्नुपर्छ भनेर अड्डी लिएकै हुँ । जुन हिजो पनि थिएँ, आज पनि छु र भोलि पनि हुनेछु ।’
कुलिङ अफ पिरियड विपरीत संशोधन प्रस्ताव राख्नुले कतै प्रतिवेदन लेखनकै क्रममा संलग्न कर्मचारीतन्त्रलाई प्रभावित पार्ने खेल त भएको छैन भनी आशंका उत्पन्न भएको उनले उल्लेख गखे ।


























































