काठमाडौँ – प्रतिनिधिसभा सदस्य उर्मिला माझीले जलविद्युत् सञ्चालकहरू मालामाल हुने तर परियोजना सञ्चालन भएका जिल्लाका जनता गरीब भइरहने अवस्था अन्त्य हुनुपर्ने बताएकी छन् ।
संसद्को आजको आकश्मिक समयमा (माओवादी केन्द्र)की सांसद माझीले लमजुङको मस्र्याङ्दी गाउँपालिकामा रहेको सुपर न्यादीमा पहिरोमा परी १ जनाको मृत्यु तथा ३ जना घाइते भएकोमा दुःख व्यक्त गर्दै घाइतेको उपचार र क्षतिपूर्ति उपलब्ध गराउन ध्यानाकर्षण गराइन्।
उनले लमजुङ जिल्लामा अहिले ३०० मेगावाटभन्दा बढि बिजुली उत्पादन गरेर जलविद्युतको हब बन्दैगर्दा त्यहाँका युवाहरू भने उचित रोजगारी नपाएर विदेशमा भौतारिनुपर्ने अवस्था भएको उल्लेख गर्दै युवाहरूलाई रोजगारीको लागि सरकारले र सरोकारवालाले पहल गर्नुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, “जलविद्युत् परियोजना सञ्चालहरू मालामाल हुने तर त्यहाँका जनता गरीवीको मारमा बसिरहनुपर्ने अवस्थाको अन्त्य कसरी हुने हो ? सरकारले जवाफ दिनुपर्छ ।”


























































