काठमाडौँ – नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१–८२ को अन्तिम त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको बीमा शुल्क आर्जन, नाफा र अन्य प्रमुख वित्तीय सूचकहरूमा सकरात्मक वृद्धि देखिएको छ ।
कम्पनीको जगेडा कोषमा १६ करोड २२ लाख रुपैयाँ, अन्य इक्विटीमा १० करोड २९ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड १२ लाख रुपैयाँ र विशेष रिजर्भमा १ अर्ब ४९ करोड रुपैयाँ सञ्चिती रहेको छ। यसका आधारमा कम्पनीको जोखिम धारण क्षमता उत्कृष्ट रहेको विश्लेषकहरूले बताएका छन्।
समीक्षा अवधिमा कम्पनीले कुल १ अर्ब ८३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ५६ करोड रुपैयाँभन्दा बढेको हो। खुद बीमाशुल्क आर्जन पनि ९५ करोड ५ लाख रुपैयाँ पुगेको छ, अघिल्लो वर्षको ७१ करोड ३ लाख रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो।
कम्पनीले सोही अवधिमा ३१ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, अघिल्लो वर्षको ३० करोड ३७ लाख रुपैयाँको तुलनामा वृद्धि देखिएको छ। प्रति शेयर आम्दानी १६.७४ रुपैयाँ, मूल्य–आम्दानी अनुपात ३८.५५ गुणा र प्रतिशेयर नेटवर्थ १९८.८८ रुपैयाँ पुगेको छ।
विशेषज्ञहरूले कम्पनीको वित्तीय अवस्था बलियो रहेको र दीर्घकालीन स्थायित्व कायम रहेको बताएका छन्।


























































