काठमाडौँ – नर्दन टेरिटरी क्रिकेटको आयोजनामा अष्ट्रेलियाको डर्बिनमा जारी टप एण्ड टी–२० क्रिकेट सिरिजको आफ्नो पहिलो खेलमा नेपालले १७८ रनको चुनौती पाएको छ ।
शुक्रबार डर्बिनस्थित मर्रारा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयोजक टोली नर्दन टेरिटरी स्ट्राइक (एनटीएस)ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएको हो ।
एनटीएसका लागि कप्तान डार्की सर्टले सर्वाधिक ५१ रन बनाए । त्यसक्रममा उनले ३४ बलमा ७ चौका र १ छक्का प्रहार गरे । यस्तै थोमस एन्ड्रयुजले नटआउट ३२ रन हाने । यस्तै जोर्डन सिल्कले १९, कोनर क्यारोलले १८, क्याडेल म्याकमोहनले १२ र जेक वेदरल्डले ११ रनको योगदान दिए । नेपालले २४ रन अतिरिक्त दियो ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए भने शाहब आलमले २ तथा कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र रुपेश सिंहले समान १–१ विकेट हात पारे । त्यसक्रममा ४–४ ओभरमा सन्दीप लामिछानेले ३८, दीपेन्द्रले ३३, साहब आलमले ३२, रोहितले २३ रन खर्चिए ।
नेपालले जवाफी ब्याटिङ गर्दैछ ।


























































