काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई नयाँ अवस्थामा अगाडि बढाउने उद्देश्यका साथ सरकार लागिपरेको बताएका छन् ।
शुक्रबार जनकपुरमा मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पहिलेको अवस्थामा नभइ नयाँ अवस्थामा देशलाई अगाडि बढाउने उदेश्यका साथ सरकार लागिपरेको बताएका हुन् ।
उनले भ्रष्टाचार नियन्त्रण र जनतालाई छिटो छरितो सेवा सुविधा उपलब्ध गराएर सुशासन कायम गर्न गर्नुपर्नेमा जोड दिए । अपराध अनुसन्धान र नियन्त्रण लगाएत थुप्रै कामहरुमा नेपाल प्रहरीले ध्यान दिनुपर्ने उनले बताए । प्रधानमन्त्री ओलीले लागू औषध नियन्त्रणमा मधेश प्रदेशले विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।
उनले शान्ति सुव्यवस्था स्थापना गर्न र जनतालाई प्रारम्भीक न्याय दिने काममा प्रहरी प्रशासनले विशेष ध्यान दिने विश्वास व्यक्त गरे ।
मधेस प्रदेश सरकारको करिब रु २३ करोड १० लाख ४३ हजारको लागतमा निर्माण भएको सुविधा सम्पन्न उक्त भवनमा ६८ वटा कोठा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।


























































