काठमाडौँ– भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभामा विरोध कायमै राखेका छन् ।


ADVERTISEMENT


बिहीबार पनि संसद बैठक सुरु हुनेबितिकै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न समय दिए ।


ADVERTISEMENT

# # #


सांसद नेपालीले लिपुलेक र कालापानीलगायतको भूभाग छिमेकी देशहरूले प्रयोग गर्ने भन्ने कुरा आएको भन्दै नेपालको भूभागको संरक्षण गर्नको लागि सरकारले यथाशीघ्र पहल गर्नेछ भन्ने विश्वास व्यक्त गरे ।

उनले भ्रष्टाचार नियन्त्रण गरेर जनताको जीवनस्तर सुधार्न केन्द्रित हुनुपर्ने सरकार मानव तस्करी गर्नेको संरक्षणमा लागेको आरोप लगाए । सांसद नेपालीले उपसभामुख इन्दिरा रानामगरबारे भएको अवमूल्यनले लोकतन्त्रमा खतरा उत्पन्न गराएको जिकिर गरे । उनले भिजिट भिसा प्रकरणमा संसदीय छानविन समिति गठन नभएसम्म विरोध कायमै रहने जानकारी दिए ।

त्यस्तै राप्रपा सांसद ध्रुवबहादुर प्रधानले भिजिट भिसा प्रकरणमा न्यायिक छानबिन समिति नै बनाउनुपर्ने बताए । उनले सभामुखले पहल गरिदिँदा आफूहरुको माग सम्बोधन हुनसक्ने उनको भनाइ छ । सांसद प्रधानले विचौलियाहरुको तन्त्रले जालो फिंजाएको भन्दै सवैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

प्रधानले धारणा राखेपछि दुबै दलका सांसदहरुले सदन बहिष्कार गरेका थिए । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाका सांसदहरुले जेठ १३ गतदेखि सदनमा निरन्तर विरोध जनाउदै आएका छन् ।