काठमाडौं–दुर्गममा गएर जनतालाई स्वास्थ्य सेवा दिन चिकित्सक मान्दैनन् भन्ने समाचार धेरै आए । तर, अहिले परिस्थिति फेरिएको छ । पछिल्लो समय चिकित्सकहरू धमाधम दुर्गमतिर केन्द्रित भएका छन् ।


ADVERTISEMENT


लोकसेवा पास गरेर आउने मेडिकल अधिकृत (आठौँ तह)ले दुर्गममा पोस्टिङ माग्न थालेपछि सुगमका स्वास्थ्य संस्थाको रिक्त दरबन्दी अपूरो भएको छ । भर्खरै लोकसेवाबाट मेडिकल अधिकृतमा पास भएर आएका १०२ डाक्टरले दुर्गममा मात्रै पोस्टिङ माग्दा स्वास्थ्य मन्त्रालयलाई दरबन्दी मिलानमा हम्मेहम्मे परेको थियो । अन्तिममा मेरिट लिस्टका आधारमा पोस्टिङ गरिएको छ ।


ADVERTISEMENT

# # #


चिकित्सकहरू सुगममा केन्द्रित हुँदा दुर्गमका नागरिकले स्वास्थ्य उपचार नपाएको भन्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा ऐन परिमार्जन गरेको थियो ।

तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले दुर्गमका जनताको सेवामा चिकित्सक खटाउने प्रबन्ध मिलाउन डा. पदमबहादुर चन्दको संयोजकत्वमा उच्चस्तरीय कमिटी गठन गरेका थिए । थापाले कमिटीको प्रतिवेदनका आधारमा नीति परिमार्जन गरेका थिए । नयाँ नीतिअनुसार सुगममा बस्नेलाई विशेषज्ञ चिकित्सक (एमडी) बन्ने बाटो बन्द हुने भएपछि डाक्टरहरू दुर्गम क्षेत्रमा केन्द्रित हुन थालेका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार डाक्टर पढ्ने अधिकांश नेता र सचिवका छोराछोरी छन् । उनीहरूले आफुअनुकूल पोस्टिङ गर्न दबाब दिँदै आएका छन् । विगतमा सुगममा खटाउन अनुरोध गर्दै आएका नेता तथा माथिल्लो निकायका कर्मचारीले अहिले आफ्ना मान्छेलाई अति दुर्गममा पठाउन मन्त्रालयमा दबाब दिन थालेको एक उच्च अधिकारीले बताए । स्वास्थ्यसचिव डा. पुष्पा चौधरीले समेत मन्त्रालयका प्रशासन शाखाका एक सहसचिवलाई आफ्ना मान्छे अति दुर्गममा पार्न दबाब दिएकी थिइन् ।

‘मेरा चारजना मान्छे छन्, जागिर जोगाउन पनि उनीहरूलाई दुर्गममा पारिदिनुस्,’ सचिवको भनाइ उद्धृत गर्दै मन्त्रालयका एक कर्मचारीले भने । तर, कर्मचारी प्रशासन शाखाले प्रधानमन्त्रीदेखि सचिवसम्मको दबाबलाई बेवास्ता गर्दै मेरिटका आधारमा खटाएको दाबी गरेको छ । विगतमा छात्रवृत्तिमा एमडी पढ्न जहाँ भए पनि दुई वर्ष सेवा गरेको हुनुपर्ने प्रावधान थियो ।

अति दुर्गम (क) १ ले १०, अति दुर्गम(क) २ ले ९, दुर्गम (ख) १ ले ७.५, दुर्गम (ख) २ ले ६ नम्बर पाउने स्वास्थ्य मन्त्रालयले जनायो । दुई वर्ष सेवा गरेपछि उनीहरूले दुई वर्ष अध्ययन बिदा पाउनेछन् । यस्तै, सुगम (ग) १ ले ५ र सुगम (ग) २ ले ४ नम्बर मात्रै पाउँछन् । सुगमको नम्बरका आधारमा एमडी पढ्न पाउँदैनन् ।

स्वास्थ्य मन्त्रालयले डा. पदमबहादुर चन्दको नेतृत्वमा गठन गरेको कमिटीले सुगममा बस्ने डाक्टर विशेषज्ञ एमडी बन्ने बाटो बन्द गरेपछि एमबिबिएस डाक्टर दुर्गम जान तँछाडमछाड गरेका हुन् ।

छात्रवृत्तिमा एमबिबिएस गरेका डाक्टरले अनिवार्य रूपमा एक वर्ष अति दुर्गम र दुई वर्ष सुगममा स्वास्थ्य सेवा दिएमात्रै छात्रवृत्तिमा विशेषज्ञ डाक्टर पढ्न बिदा पाउने कर्मचारी प्रशासन शाखाका उपसचिव बाबुराम खनालले बताए । ‘विगतमा मन्त्रालयले एकभन्दा बढी विकल्प दिँदा चलखेल गर्ने परिपाटी थियो,’ खनालले भने, ‘अब त्यसको अन्त्य भएको छ । यसले निष्पक्ष काम गर्ने वातावरण विकास भएको छ ।’– आजको नयाँ पत्रिकाबाट