ताप्लेजुङ–ताप्लेजुङमा जबरजस्ती करणीबाट रहनगएको गर्भका कारण १२ वर्षीया एक बालिकाको ज्यान जोखिममा परेको छ । शारीरिक अपरिपक्वता अर्थात कलिलो उमेरमा गर्भवती बनेका कारण बालिकाको ज्यान जोखिममा परेको हो ।


ADVERTISEMENT


यता आफ्नी छोरीको पेटमा जबरजस्ती करणीका कारण गर्भ रहेपछि चिन्तित बनेकी बालिकाकी आमाले छोरीको जीवन बचाई दिन याचना गरेकी छिन् । सदरमुकाम फुङ्लिङ बजारमा अस्थायी रुपमा बसोबास गर्दै आएकी सरस्वती राई (नाम परिवर्तन) ले छोरीको सहज उपचार गरी जीवन बचाई दिन याचना गरेकी हुन् ।


ADVERTISEMENT

# # #


जिल्ला तहमा उपचार सम्भव नहुने भएकोले सुगम ठाउँमा पु¥याएर सहज उपचार गराउनका लागि आर्थिक अवस्था कम्जोर रहेको भन्दै उनँले सहयोगको याचना गरेकी छन् । “मेरो घरको अवस्थाले नावालक छोरीको उपचार गर्न सम्भव छैन, यदि कसैले दया राखेर छोरीको उपचार गरिदिए उसको जीवन बच्न सक्थ्यो” उनले भनिन् । नावालक छोरीले पेटमा भएको बच्चालाई जन्म दिनसक्ने शारीरिक अवस्था नरहेकाले सुरक्षित तरिकाबाट गर्भ खेर फाले छोरीको ज्यान बच्न सक्ने उनले आँकलन गरेकी छन् ।

सरस्वतीले ताप्लेजुङ जिल्ला अस्पतालमा यस्तो उपचार सम्भव हुन नसक्ने भन्दै राजधानी सहितका सुगम स्थानमा लगेर छोरीको उपचार गरे ज्यान बचाउन सकिने आशा रहेको बताइन् । उनका अनुसार ११ पूरा भई १२ वर्ष मात्र लाग्दै गरेकी छोरीको पेटमा तीनदेखि साढे तीन महिना सम्मको गर्भ रहेको छ । बच्चाको स्वास्थ्य परीक्षण प्रतिवेदनले समेत पेटमा गर्भ रहेको पुष्टि गरिसकेको छ ।

नाबालिका छोरीको पेटमा भएको गर्भको जति समय बढ्दै गयो, उति नै ज्यानको जोखिमको बढ्दै जाने र गर्भ खेर फाल्ने प्रक्रियामा समेत असहजता हुने बुझ्नुभएको उनले यस कार्यमा सहयोग गरिदिन ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद तथा प्रदेश सांसद साथै स्थानीय तहका जनप्रतिनिधि समेतलाई आग्रह गरिन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको महिला सेलमा कार्यरत रबिना राईका अनुसार कलिलै उमेरकी बालिकाको पेटमा रहेको गर्भको समयमै व्यवस्थापन नभए जीवन जोखिममा पर्न सक्छ । राईले यसकार्यमा सहयोगका लागि गर्भवती बालिकाकी आमाले बारबार आफुहरुलाई आग्रह गर्दै आएको पनि बताइन् । “स्वास्थ्य अवस्था जटिल हुनसक्ने सम्भावनालाई हेरेर बालिकालाई सुविधा सम्पन्न अस्पतालमा चाँडै उपचारको व्यवस्था गर्नु राम्रो हुने छ” राईले भनिन् ।

यता १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको अभियोगमा पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारापा घर भएका ३३ वर्षीय राम राई प्रहरीले पक्राउ गरी अहिले हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्दै आएको छ । बालिकाकी आमा झापा गएको मौकामा कोठामा भाइसँगै बस्दै आएकी बालिकालाई राईले रातको समयमा मुख थुनी जबरजस्ती करणी गरी गर्भवती बनाएको बताइएको छ ।