– आर.पी.गाउँले


ADVERTISEMENT


जब कविको डेट स्पायर हुनै लागेको मष्तिस्कले
संभोग गर्यो खाली पानामा
भाग्य वा दुर्भाग्यले
अक्षत कलमका निभको अमूल्य विर्यबाट
जन्मिएकी कुमारी कविता हूँ म ।
म न बालक हुन पाउँछु
न कहिले बूढी हुन नै
किनकी म जहाँ जहाँ पुग्छु
त्यहीँबाट सुरु गर्छन् मलाई
अङ्ग अङ्गमा चिथोर्दै लुछ्न
तर पनि मेरो कुमारीत्व तोडिँदैन,
मेरो रुप हराउँदैन,
मेरो सुन्दरता र यौवनको गन्ध गुम्दैन
अर्थात् जति प्रयोग गरिन्छ मलाई
त्यति नै पवित्र हुन्छु म ।
म जन्मिएकै दिन कुमारी भएँ
विडम्बना !
मेरो जन्म दिने बित्तिकै
क्रियटिभ मृत्यु भयो कविको
लेखकीय बौद्धिक मृत्यु ।


ADVERTISEMENT

# # #


मलाई सिंगार्न कुनै अत्तर र
रङ्गीन आवरणको जरुरत छैन
मेरा गम्भीर र शालीन अङ्गहरु
जसलाई आँखा गाडिरहून्
सभा समारोह र सेक्सी स्टेसनहरुमा
कवि, अकवि, आलोचक, समालोचक
अनि कामुक योग्य दिग्गजहरुले ।

मेरो जन्मदाता कविको
मुखबाट फुत्किएका
एब्स्ट्रयाक्ट भर्जिन सिम्फोनीमा
रमाउँदै हुने छु म
कहिले पिङ्गलाहरुको पवित्र धाममा
कहिले छाडा देवताहरुको चिहानमा
कहिले प्रतिष्ठानका आला घाटहरुमा
अनि कहिले पृथ्वीका खिरिला
वक्षस्थलका चुचुरामा कत्थक नाँच्दै ।
म कसैकी प्राइभेट प्रेमिका होइन
मलाई जसले जहाँ भेटे पनि
सुम्सुम्याउन सक्नुहुनेछ ,
चिथोर्न, लुट्न सक्नु हुनेछ
तपाईंहरुको छैटौं लिङ्गले
म नाङ्गै भएर आलिङ्गन गरिदिनेछु
तिमीहरुका मस्तिष्कमा
अनि डुब्ने छौ म संगै
भरभराउदो वैंशमा लतपतिएकी
प्रेमिकाको रजस्वलाको चौथो दिनमा झैँ ।
‘दिस इज मेटाफोर थिङ्किङ
इज नट अ भर्जिन पर्सन
बट आई एम क्रेजी वर्ड ‘
क्षत हुनुभन्दा अगाडिको
अर्थात् भर्जिन कविता !!