काठमाडौं–प्रदेश ३ को स्थायी राजधानी काभ्रे सार्न प्रदेशसभा सचिवालयमा बुधबार प्रस्ताव दर्ता भएको छ । एमाले काभ्रेका सांसद चन्द्रबहादुर लामाले काभ्रेको बनेपास्थित आइटीपार्कमा स्थायी राजधानी बनाउन बनाउन माग गर्दै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएको प्रदेश सभाका सचिव भरतकुमार बुढाथोकीले जानकारी दिए ।


ADVERTISEMENT


नेपालको संविधानको धारा २८८ को उपधारा (२) मा प्रदेशको राजधानी प्रदेश सभाको दुई तिहाई सदस्यको निर्णय बमोजित हुने व्यवस्था अनुरुप प्रस्ताव दर्ता गराएको लामाले बताए । उक्त प्रस्तावमा एमाले काभ्रेका सांसद लक्ष्मण लम्साल, नेकपा एमाले काभ्रेका अर्का सांसद बसुन्धरा हुँमागाई र नेकपा माओवादी केन्द्र काभ्रेका सांसद रत्न ढकालले समर्थन गरेका छन् ।


ADVERTISEMENT

# # #


संविधान अनुसार प्रदेशसभा गठन भएको छ महिनाभित्र प्रदेशको स्थायी राजधानी तोकिसक्नु पर्ने हुन्छ । २०७४ साल माघ ३ गते बसेको तत्कालीन शेरबहादुर देउवा सरकारले प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडा बनाउने निर्णय गरेको थियो । प्रदेशसभामा सचिवालयमा राजधानी सार्ने प्रस्ताव दर्ता भएपछि सभामुखले उक्त प्रस्तावलाई प्रदेशसभा बैठकमा निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

पाँच वटै विषयगत समितिको सभापति सर्वसम्मत
प्रदेश सभाले गठन गरेको पाँच वटै समितिको सभापति सर्वसम्मत चयन भएका छन् । बुधबार साँझा पाँच बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय रहेकोमा एक/एक जनाको मात्र उम्मेदवारी परेको हो ।

सार्वजनिक लेखा समितिको सभापतिमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सभासद न्हुक्षे नारायण श्रेष्ठको मात्र उम्मेदवारी परेको हो । प्रदेश सभा सचिवाले सार्वजनिक गरेको सूचना अनुसार प्रदेश मामिला समितिमा नेकपा एमालेका माधव पौडेल, शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा नेकपा माओवादी केन्द्रका घनश्याम दाहाल, उद्योग, पर्यटन तथा वातावरण समितिमा नेकपा एमालेका रमा आले मगर र अर्थ तथा विकास समितिमा नेकपा एमालेका सरेश नेपालको उम्मेदवारी परेको छ । ‘बिहीबार पाँच बजेभित्र सभापतिहरुको चयन प्रक्रिया सकिनेछ’, प्रदेशसभा सचिव बुढाथोकीले भने ।