काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको बैठकमा सम्बोधन गर्ने भएकी छन् । संसदमा सम्बोधन गर्न उनी बग्गी चढेर बानेश्वरस्थित संसद भवन पुग्ने छिन् ।


ADVERTISEMENT


प्रहरीका अनुसार ४ बजेका लागि तय भएको सम्बोधन लागि राष्ट्रपति भण्डारी शितलनिवासबाट लाजिम्पाट, कान्तिपथ, जमल, भद्रकाली, सिंहदरबार, बिजुलीबजार हुँदै बानेश्वर जानेछन् । बिजुली बजार पुगेपछि राष्ट्रपतिको सवार गाडीको दुबैतिर दुईटा बग्गी पनि सँगै जानेछन् ।


ADVERTISEMENT

# # #


‘बानेश्वरस्थित एभरेस्ट होटल नजिकैसम्म उहाँ आफ्नै कार्गेटमा जानुहुन्छ । त्यहाँदेखि बग्गीमा चढेर संसद भवनसम्म जानुहुन्छ,’ राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले भने ।

नेपालको संविधान जारी भएपछि पहिलोपटक गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र माघ २४ मा सम्पन्न राष्ट्रियसभाको निर्वाचनबाट गठित ती दुवै सदनको संयुक्त बैठकलाई दोश्रोपटक नवनिर्वाचित राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेकी हुन् ।

सवारीका बेला शितलनिवास-लाजिम्पाट-जमल-भद्रकाली-सिंहदरबार-बानेश्वर रूटमा यातायात रोकिने

संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार राष्ट्रपति भण्डारी सम्मेलन केन्द्रमा घोडाको बग्गीमा प्रवेश गर्दा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ, प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षलगायतले स्वागत गर्नेछन् ।

बैठक कक्षमा राष्ट्रपतिले आशन ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गर्नेछन् । सम्बोधनपछि बैठक समाप्त हुने भएकाले अन्य कार्यसूची हुनेछैन । सम्बोधनको कार्यक्रममा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका सचिवहरु, कूटनीतिक नियोगका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।