काठमाडौं – आफूलाई गंगालाल अस्पतालको डाक्टर बताउँदै एक महिलालाई बलात्कार गर्ने नक्कली डाक्टर पक्राउ परेका छन् । काठमाडौं प्रहरीले पीडित महिलाको उजुरीका आधारमा काठमाडौं महानगरपालिका–२६ बाट २७ वर्षीय अर्जुन कोइरालालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


उनले आफूलाई सन्तोष घलेको नामले चिनाउँदै आएको र पूर्व सेनाका जवानसमेत भएको प्रहरी अनुसन्धानले देखाएको छ । नेपाली सेनामा कार्यरत रहेका बेला उनलाई जबरजस्ती करणी मुद्दामा जागिरबाट निकालेको अनुसन्धानले देखाएको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले बताए ।


ADVERTISEMENT

# # #


उनले एक महिलालाई बिरामी चेकजाँच गर्न गंगालाल अस्पताल आउँदा म पनि डाक्टर हुँ, तिम्रो आमाको उपचारमा म सक्दो सहयोग गर्न सक्छु भन्दै दोस्ती बढाएका थिए । उनले काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित होटल गोरखा फूलबारी गेष्ट हाउसमा लगेर महिलालाई पटक–पटक यौन शोषण गरेका खुलेको छ ।

उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थपी अनुसन्धान कार्य अघि बढाइएको छ । उनको स्थायी घर पाल्पा भएको प्रहरीले जनाएको छ ।