काठमाडौं–हिमा गाउँपालिका जुम्लाकी उपाध्यक्ष हिमाली रोकायको एसईई परीक्षा दिँदै गरेकी एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । राहदेव माध्यमिक विद्यालय मोफ्लामा उपाध्यक्ष रोकायको परीक्षा दिँदै गरेकी विमला रोकायालाई प्रहरीले पक्राउ हो ।


ADVERTISEMENT


नक्कली परीक्षार्थी विमलाले लिइएको प्रवेश पत्रको फोटोमा केरमेट गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक डा.तपनकुमार दाहालले बताए । ‘जिल्ला शिक्षा कार्यालय जुम्लामा पेस गरिएको कागजात र परीक्षा हलमा लिइएको प्रवेश पत्र तुलना गर्दा विवरण मिलेको थिएन’ उनले भने, ‘गाउँपालिकाको उपाध्यक्षले नै नक्कली परीक्षार्थी राखेपछि अरुले के गर्लान् भन्ने हो ।’


ADVERTISEMENT

# # #


बिहीबार स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको परीक्षा दिँदै गर्दा उपाध्यक्ष रोकायले राखेको नक्कली परीक्षार्थी विमला पक्राउ परेकी हुन् । राहदेव मावि मोफ्ला केन्द्रमा २ सय २० जना परीक्षार्थी छन् । उपाध्यक्षको सट्टामा परीक्षा दिने नक्कली परीक्षार्थी विमलालाई दस्तखत किर्ते मुद्दा लगाइने जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । सट्टामा परीक्षा दिन लगाउने उपाध्यक्ष रोकायालाई पक्राउ गरेर कारबाही गर्ने प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिए । उनका अनुसार उपाध्यक्ष रोकाय फरार रहेको प्रहरीले जनाएको छ ।

विमलाले यसअघिका सबै परीक्षा दिइसकेकी छिन् । यसअघि कालिका माध्यमिक विद्यालय तलिकुडुमा अर्कैको सट्टामा एसईई परीक्षा दिँदै गरेका ४ जनालाई नियन्त्रणमा लिएर दस्तखत किर्तेअन्तर्गत कारबाही गरेको प्रहरीले जनाएको छ । न्यायिक समितिको संयोजक जस्तो व्यक्तिले नक्कली परीक्षार्थी राखेर परीक्षा दिएको भन्दै एसईई परीक्षामा चरम विकृति फैलिएको स्थानीयले बताएका छन् ।