काठमाडौं, १७ चैत्र । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चौध वर्ष बनबास र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली चौध वर्ष जेलबास बसेको बताउनु भएको छ ।


ADVERTISEMENT


रिपोर्टर्स क्लब नेपालको २० औं वार्षिकोत्सवमा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मैले यसो हिसाब गरें । प्रधानमन्त्रीज्यू १४ वर्ष जेलबास बस्नुभयो, म चाहिँ १४ वर्ष बनबास बसें । हाम्रो त्यो संघर्ष केका लागि थियो ? देशको समृद्धि र विकासका लागि हो । अब हामीले भाषण होइन, एक्सनमा जानुपर्छ ।’


ADVERTISEMENT

# # #


‘नेपालका मीडियाले लोकतन्त्रका लागि लडेका छन् । संघर्ष गरेका छन्, अब समृद्धि र आर्थिक विकासका लागि संकल्प गर्नुपर्छ’ प्रचण्डले भन्नुभयो, ‘हाम्रा अगाडि अवसर र चुनौति दुवै छन् । हामी यसमा सफल हुनैपर्छ ।’
‘प्रधानमन्त्री र म अग्नि परीक्षामा छौं । जनताले हाम्रा मुद्दालाई विश्वास गरे र अनुमोदन गरे’ प्रचण्डले भन्नुभयो, ‘मैले प्रधानमन्त्रीजीलाई पनि त्यही भनेको छु, अब कुरा होइन, काम गरौं ।’ ।

उहाँले ठूलो क्षति र पीडाको बीचबाट गुज्रेपछि नै राष्ट्रले छिटो छिटो समृद्धिको यात्रा गरे पनि नेपालीमा संक्रमण लामो हुँदा समस्या आएको बताउनु भयो । ‘अहिले प्रधानमन्त्री केपी ओली झण्डै २ तिहाई बहुमत र जनताको अभिमतसहित प्रधानमन्त्री हुनुहुन्छ । लामो समयको राजनीतिक अस्थिरताको युग समाप्त गर्ने एउटा अवसर सरकारलाई प्राप्त छ । यो अवसरको सदुपयोग गर्न सबैले संकल्प गरौँ’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

‘हामी लामो समयसम्म नेपालमा विदेश नीतिको सन्दर्भमा फुटाउ र राजगर भन्याजस्तो कसैलाई प्रो–इण्डियन कसैलाई प्रो–चाइनिज कसैलाई प्रो–मोनार्की कसैलाई प्रो–काँग्रेस भनाउने, त्यसरी नै राजनीति गर्ने र कहिल्यै पनि राष्ट्रिय एकता हुन नदिने खेलमा अल्मलियौं’, उहाँले भन्नुभयो, ‘तर अब समय फेरिएको छ । अब नेपाली जनता सार्वभौम भएका छन्, नेपाली जनतालाई विभाजित गर्ने होइन, नेपाली जनतालाई एकतावद्ध गर्ने राजनीति र कुटनीति आवश्यक छ ।’