काठमाडौं–प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सम्भावित स्थानको पहिचान गर्न विभिन्न जिल्लामा पुगेको सितारम कट्टेल ‘धुर्मुस’को टोली काठमाडौं फर्किएका छन् । अवलोकन गरिएका स्थानहरुको प्राविधिक विश्लेषण पश्चात अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आर्इसीसी) को मापदण्डलाई समेत ध्यानमा राखेर सकेसम्म चाँडो निर्णय लिइने धुर्मुसले बताएका छन् ।


ADVERTISEMENT


टोलीले रुपन्देही, चितवन र हेटौंडामा रहेका जग्गाहरुको स्थलगत अवलोकन गरेको थियो । यसैगरी काठमाडौं फर्किने क्रममा चोभारमा रहेको सरकारी जग्गाको कुरा आएपछि त्यो पनि हेरिएको छ । त्यसअघि काठमाडौंको मुलपानी, कीर्तिपुर तथा भक्तपुरमा हेरिएको थियो । यीनै मध्ये एउक ठाउँमा रंगशाला बन्ने धुर्मुस बताउँछन् । ‘अब सम्भवतः थप जग्गा हेर्दैनौं’ उनले भने, ‘यही मध्ये एउटा छनोट गर्ने हो ।’


ADVERTISEMENT

# # #


हेरिएका सबै जग्गाहरु रंगशाला निर्माणका लागि उपयुक्त देखिएको बताउँदै उनले खेलकुद सम्वद्ध सरकारी निकाय, क्रिकेट खेलाडीहरु लगायत सबै पक्षसँग बसेर निर्णयमा पुग्ने जानकारी दिए । ‘माग त सबैतिरका जनताको उत्तिकै छ तर, बनाउने एउटा मात्रै हो’ धुर्मुस भन्छन्, ‘मलाई आशा छ, जुन स्थान छनोट गरे पनि सबै जनताले साथ दिनु हुनेछ ।’

अघि भने, ‘सबैलाई हतारो छ, सबैभन्दा बढि हतारो हामीलाई नै छ । तर, त्यसो भन्दैमा हचुवामा निर्णय लिनु उपयुक्त हुँदैन । आज हतारमा गरेको निर्णयले भोलि पछुताउनु नपरोस् भन्नेमा सजक छौं ।’

जिल्ला–जिल्लामा स्वागत
स्थलगत अवलोकनका लागि जाँदा धुर्मुसको टोलीले स्थानीय जनताको न्यानो स्वागत र माया पाए । जहाँ पुग्यो, त्यही ठूलो भीड जम्मा हुन्थ्यो । धुर्मुस भन्छन्, ‘क्रिकेटको यत्रो क्रेज होला भन्ने मैले कल्पनै गरेको थिइनँ । क्रिकेट रंगशालाका लागि जनताको उत्सुकता र आतुरता देखेर म नतमस्तक भएँ । ठूलो उर्जा र हौसला बोकेर फर्किएको छु ।’

धुर्मुस सुरुमा काठमाडौंबाट भैरहवा गएका थिए । त्यहाँको विमानस्थलमा रातिसम्म मानिसहरु प्रतिक्षामा बसेका रहेछन् । त्यो भीडमा युवा मात्र होइन, बुढाबुढीदेखि बच्चाबच्चीसम्म थिए । टोलीले सैनामैना नगरपालिकामा रहेको ६५ विगाह जग्गा अवलोकन गरेको थियो । सैनामैनाका मेयरले यो जग्गामा रंगशाला बनाउन प्रस्ताव गरेका छन् ।

यसैगरी भैरहवामा रहेको सिद्दार्थ रंगशालालाई स्तरोन्नति गर्न सकिन्छ कि भनेर टोली त्यहाँ पनि पुग्यो । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग टोलीले भेटघाट गर्‍यो । मुख्यमन्त्री पोखरेलले आफ्नो प्रदेशमा आउने भए सबै सहयोग गर्ने तत्परता व्यक्त गरेका थिए ।

धुर्मुसको टोलीले भरतपुर चितवनमा रहेको महानगरपालिकाद्वारा प्रस्तावित चितवन रंगशाला हेर्‍यो । त्यो जग्गा धेरै दृष्टिकोणले उपयुक्त ठहर्‍याइएको छ । वरिपरीको सुन्दरताले धुर्मुस उत्साहित बनेका छन् । त्यहाँ तुरुन्तै काम थाल्न सकिने अवस्था छ । तर, पछि अन्तर्राष्ट्रिय विमानस्थलको अभाव खट्किन सक्ने चिन्ता छ ।

त्यसपछि प्रदेश ३ का मुख्य सचिव डोरमणि पौडेलको आग्रहमा टोली हेटौंडा पुगेको थियो । त्यहाँ २४ विगाह सरकारी जग्गा कम्पाउन्डले घेरेर राखिएको रहेछ । तर, वरपर ठूला होटलहरु नहुनु र विमानस्थलको अभावले देखिएको छ । अहिलेसम्म हेरिएका मध्येबाट छनोट गर्दा काठमाडौंको मुलपानी वा चितवनमध्ये एक रोजिने सम्भावना प्रबल देखिएको छ ।