काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले काठमाडौँको नयाँ बानेश्वरमा भएको जेन–जीको आन्दोलनले प्रहरीलाई नै आक्रमण गरेकाले गोली चलाउनुपरेको बताएका छन् ।
हिमालय पोष्टसँगको कुराकानीमा रिजालले सार्वजनिक सम्पत्तिमाथि तोडफोड र आगजनी तथा सुरक्षार्थ खटिएका प्रहरीकाथि नै आक्रमण गरेपछि प्रहरीले प्रतिरक्षाका लागि गोली चलाउनुपरेको बताएका हुन् ।
‘डिउटीमा रहेको प्रहरीलाई आक्रमण गर्न गएको अवस्थामा उहाँहरुले आफ्नो प्रतिरक्षा गर्न बल प्रयोग गर्ने हो । त्यसमा लाठी प्रयोग हुन्छ र सम्भव नभएमा रबरको गोली प्रयोग हुने हो ।’ उनले भने, ‘सुरुवातमा शान्तिपूर्ण नै थियो । तर, संसद भवन नै छिर्न खोजेपछि सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु प्रहरीको दायित्व हो ।’
उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्नका लागि प्रहरीले अन्य सबै विकल्प प्रयोग गर्दा पनि नभएपछि रबरको गोली चलाइए हुन सक्ने दाबी गरे । उनले जेन–जीलाई शान्तिपूर्ण आन्दोलनका लागि अनुमति दिएको भए पनि आन्दोलन उग्र र हिंसात्मक बनेको बताए । उनले कर्फ्यु आदेश जारी भएकाले त्यसको पालना गर्नु सबैको दायित्व भएको बताए ।
यो समाचार तयार पार्दासम्म जेन–जीको आन्दोलनमा नयाँ बानेश्वरमा प्रहरीको गाली लागी घाइते भएका ५ जनाको मृत्यु भइसकेको छ ।



























































