– गोबिन्द ज्ञवाली


ADVERTISEMENT


नेपाल अहिले एउटा निर्णायक मोडमा उभिएको छ। सतहमा सबै सामान्य देखिए पनि, भित्रीरुपमा देशको सामाजिक संरचना, जनसंख्या तथ्याङ्क र राजनीतिक असन्तुलन एकै ठाउँमा जोडिँदा एउटा अनिवार्य विष्फोटको संकेत दिन थालेका छन्। यो विष्फोट केवल सडकमा हुने आन्दोलन मात्र होइन, यो विष्फोट सोचमा, चेतनामा र पुस्ताको टकरावमा हुनेछ।


ADVERTISEMENT

# # #


जनसंख्या तथ्य र युवा पुस्ताको वर्चस्व

विस‌ २०७८ को जनगणना अनुसार नेपालको कूल जनसंख्या करिब २९.६६ मिलियन (२ करोड ९६ लाख) छ। तर यसलाई उमेरको हिसाबले विभाजन गर्दा एकदमै रोचक र खतरनाक यथार्थ प्रस्ट हुन्छः ०–१४ वर्षमुनिका बालबालिकाः करिब ३० प्रतिशत, १५–२४ वर्षमुनिः करिब २२ प्रतिशत भन्दा बढी, २५–३९ वर्षमुनिः करिब २६ प्रतिशत, ४० वर्षमाथिः करिब २२ प्रतिशत जनस‌ख्या रहेको छ ।

यसको अर्थ, ४० वर्षभन्दा कम उमेरका युवा र बालबालिका मिलेर ७८ प्रतिशत भन्दा बढी छन् । नेपाल आज युवाको देश हो । तर शासन गर्ने, नीति निर्माण गर्ने र सत्ता कब्जा गर्नेहरू भने ६० नाघेका नेताहरू नै छन्। बूढामुखी शासन, युवामुखी जनसंख्या, नेपालको विडम्बना यहीं छ— देश युवाको छ, तर राज्य बूढाहरूको नियन्त्रणमा। नीतिहरू युवाले होइन, पुराना नेताहरूले बनाउँछन्। भविष्य निर्माण गर्ने शक्ति युवासँग छ, तर भविष्य बेच्ने काम नेताहरूले गर्छन्।

यी सबै पार्टीमा साझा कुराः

अहिले देशका सबैजसाे नेतृत्वमा अशिक्षा, म्याद गुज्रिएका सोच, भ्रष्टाचारको जालो, अहंकार र निरंकुश प्रवृत्ति छ । नेताहरूको विलासिता, उनीहरुका सरकारी महलजस्तै निवास, करोडौँ मूल्यका गाडी, विदेशका महँगा अस्पतालमा उपचार, छोराछोरी विदेशमा पढाइ र स्थायी बसाइले जनतामा आक्राेश पैदा गरेकाे छ ।

जनताको वास्तविकता

नेपालमा भुँइ मान्छे उपचार गर्ने अस्पतालमा औषधि छैन, विद्यालयमा शिक्षक छैनन्, सडकमा धुलो र हिलो मात्र छ । रोजगारी छैन—युवाहरूलाई बिदेसिन बाध्य पारिएको छ।

आज नेपालमा शिक्षित, सक्षम युवा विदेश जान बाध्य छन्। तर “सिस्टम चलाउन” भने बूढो पुस्ताले सत्तामा कब्जा जमाएका छन्।

प्रशासन – जनताको शत्रु

सरकारी संयन्त्र जनतालाई सहज बनाउने नभई अझै बढी दुःख दिने संयन्त्र बनेको छ। कार्यालयमा काम गराउन घण्टौँको पर्खाई, साना साना कामका लागि घुस दिनुपर्ने बाध्यता छ, अदालतमा वर्षौँसम्म मुद्दा टुंगिँदैन।

प्रहरी, प्रशासन र दलाल–सञ्जालको गठबन्धनले नागरिकलाई निराश बनाएको छ।

किन अनिवार्य थियो विष्फोट?

जनसंख्या संरचनाको दबाब

नेपालमा ३० प्रशितभन्दा बढी बालबालिका, सबैभन्दा ठूलो उमेर समूह २५ वर्षमुनि रहेको छ । ती सबैले १०–१५ वर्षभित्र रोजगारी, शिक्षा, अवसर र भविष्य मागिरहेका थिए ।

असक्षम नेतृत्व

७० वर्ष नाघेका नेताहरू अझै कुर्सीमा अड्किएका छन्। उनीहरुमा युवाको भविष्यप्रति चासो छैन, केवल सत्ता र पैसाप्रति मोह मात्रै छ।

विदेशिने बाध्यता

करिब ५० लाखभन्दा बढी नेपाली विदेशमा छन्। देशभित्र काम छैन, अवसर छैन। विदेश गएका युवाले एक दिन फर्केर प्रश्न गर्नेछन्– “हामीलाई किन भाग्न बाध्य पारियो ?”

यहाँ न्याय र अवसरको असमानता छ, न्याय पैसाले किन्न सकिन्छ। जागिर पार्टीको सिफारिस बिना पाइन्न। योग्यता होइन, चाकडीमा ध्यान दिनुपर्ने बाध्यतामा आम जनता छन्।

जेन–जीको भूमिका

नेपालमा जेन–जी (१९९७–२०१२ जन्मिएका) अहिले १३–२८ वर्ष उमेर समूहमा छन्। उनीहरु डिजिटल सीप, शिक्षा र चेतनामा अगाडि छन् । सामाजिक सञ्जालमार्फत तुरुन्त संगठित हुने क्षमता उनीहरुसँग छ ।  उनीहरूको असन्तोष हिजो–आज सडकमै प्रकट हुन थालेको छ।

धोका एकपटक मात्र सकिन्छ, फेरि धोका पाए यो पुस्ता विद्रोह गर्न बाध्य हुन्छ

सम्भावित बाटो

यदि विष्फोटलाई रोक्न र व्यवस्थापन गर्न सकिएन भने नेपाल फेरि अराजकतातिर धकेलिन सक्छ। त्यसैले अब संसद विघटन, अन्तरिम १५ सदस्यीय मन्त्रिपरिषद् – जेन एक्स, वाई र जेड पुस्ताबाट प्रतिनिधि र बाँकी नागरिक समाजबाट गर्नुपर्छ ।

यस्तै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, ४ वर्षमा एकपटक चुनावको व्यवस्था गरिनुपर्छ । अत्यधिक खर्चिलो भएकाले प्रदेश प्रणाली खारेज गरिनुपर्छ भने हिन्दू राष्ट्रको पहिचान पुनः स्थापित गर्न आवश्यक छ ।

राष्ट्रपतिमा स्वतन्त्र व्यक्ति वा औपचारिक भूमिकासहितको राजाको विकल्पमा जान सकिन्छ । यस्तै अदालत, सेना, प्रहरी, प्रशासन सबै नियुक्ति योग्यता आधारमा गर्ने व्यवस्थाको सुनिश्चतता गरिनुपर्छ ।

विद्यालय–कलेजमा दलका भातृसंघ–युनियन पूर्ण रूपमा खारेज गरिनुपर्छ ।

ढिलो–चाँडो विस्फोट हुन्छ

नेपाल आज यथार्थमा दुई पुस्ताबीचको टकरावमा छ— ७८ प्रतिशत युवा जनसंख्या, जसले परिवर्तन चाहन्छ। ६० नाघेका पुराना नेताहरू जसले आफ्नो स्वार्थ मात्र सोच्छ। यो टकराव कहिलेसम्म दबाइन्छ भन्ने प्रश्न मात्र हो। ढिलो–चाँडो, जब पीडाले सीमा नाघ्छ, विस्फोट हुन्छ नै।

यो विष्फाेट केवल सडक आन्दोलनको नभएर, नयाँ सोच, नयाँ नेतृत्व र नयाँ संरचनाको रुपमा विष्फोट हो र त्यसले मात्र नेपाललाई वास्तविक रूपमा नयाँ युगतर्फ मार्गदर्शन गर्नेछ ।