काठमाडौँ – नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारतले स्वागत गरेको छ ।


ADVERTISEMENT


पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो ।


ADVERTISEMENT

# # #


विज्ञप्तिमा भनिएको छ ,“हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ ।”

भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनतको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ ।

यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले समेत अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन् । नेपालीको शान्ति र प्रगतिका लागि भारत पूर्ण प्रतिबद्ध रहेको बतउँदै उनले उनले सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।’

भदौ २३ र २४ गते जेन–जीको आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार पूर्वप्रधान न्यायाधीश कार्कीलाई ६ महिनामा निर्वाचन गर्नेगरी अन्तरिम सरकारको प्रधानमन्त्री बनाएका थिए ।