काठमाडौं – अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता विपिन कार्कीले श्रीमान् श्रीमती बन्दै घर बसाउने भएका छन् । यी दुवै कलाकारले रियल लाइफमा नभएर रिल लाइफमा श्रीमान् श्रीमतीको रुपमा घर बसाउन लागेका हुन् ।


ADVERTISEMENT


नम्रता र बिपिनले श्रीमान्–श्रीमतीको रुपमा घरजम गर्ने चलचित्र ‘प्रसाद‘को सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच घोषणा भयो । ‘क्लासिक’, ‘नोभेम्बर रेन’, ‘पर्व’ लगायत केही चलचित्र निर्देशन गरिसकेका दिनेश राउतले यसलाई निर्देशन गर्दैछन् ।


ADVERTISEMENT

# # #


निःसन्तानका कारण पति र पत्नि बीचमा उत्पन्न हुने समस्याको बिषय उठाएको चलचित्र ‘प्रसाद’ असमझदारी, अविश्वास तथा आफैँमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य मान्यता समेत देखाउने निर्देशक राउतले बताए ।

यस अगाडी आफ्ना सबै चलचित्रमा अभिनेत्री नम्रता लिएका निर्देशक राउतमाथि कार्यक्रममा ‘प्रसाद’मा पनि नम्रता लिनुको कारण र सम्बन्धको बिषयमा प्रश्न उठाइएको थियो ।

नम्रता क्यारेक्टरमा भिज्ने र राम्रो अभिनय गर्ने कलाकार भएको निर्देशक राउतले बताए । ‘लभस्टोरी चलचित्र निर्देशन गर्दै गर्दा मैले थ्रिलर जनराको ‘पर्व’ बनाएँ ’ निर्देशक राउतले भने, ‘प्रसाद’ फ्यामिली ड्रामा हो । रुवाउन र हँसाउन त नसक्ला तर यस यसले सोच्न भने बाध्य बनाउँछ ।’

अभिनेत्री नम्रताले चलचित्रको कथा राम्रो भएको कारण काम गर्न लागेको बताउँदा अभिनेता विपिनले कथाले आफूलाई जोडेको बताए । बिपिनले थपे, ‘चलचित्र पनि उतिक्कै रसिलो बन्नेमा विश्वस्त रहेको छु ।’

चलचित्रको स्क्रिप्ट पत्रकार सुशील पौडेलले लेखेका हुन् । उनले आफूले बुझेको र देखेको समाजको एक घटनालाई कथामा उतार्ने प्रयास गरेको बताए । ‘मेरो लेखन रहेको चलचित्र दर्शकले मन पराए भने म लेखनमा सफल भए ।’ सुशीलले अगाडी भने, ‘मन पराएनन् भने म असफल भए ।’

यस अगाडी अनमोल केसीको ब्यानरमा एक चलचित्र बनाएका सुभाष थापाले यसलाई बनाउन लागेका हुन् । वैशाख पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रमा राजेश श्रेष्ठको छायांकन र कोशिस क्षेत्री र सुवास भुषालको संगीत सुन्न सकिनेछ । चलचत्रिमा नवीन मानन्धरको पनि प्रमुख भूमिका रहनेछ ।