काठमाडौँ – बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले पदबाट राजीनामा दिएका छन् । सभामुख पाठकले जेन–जी आन्दोलनलाई कारण देखाउँदै बुधबार प्रदेशसभाका उपसभामुखसमक्ष राजीनामा दिएका हुन् ।
उनले जेन–जी आन्दोलनमा अस्वाभाविक बल प्रयोग गरिएको र नेपालीहरूले अनाहक ज्यान गुमाउनुपरेकोले राष्ट्र रोएका बेला पदमा बस्न उपयुक्त नहुने भन्दै राजीनामा दिएका हुन् ।
‘राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरित पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने अन्तर आत्मामा लाग्यो र भाद्र २४ गते नै सामाजिक संजालबाट राजिनामा गर्ने घोषणा गरें ।’ उनले राजीनामा पत्रमा भनेका छन्, ‘तर प्राविधिक कारणले कानुनी प्रकृया पुरा गर्न अनुकूल भएन । आज नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदवाट राजिनामा गरेको छु ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समानुपातिक कोटाबाट प्रदेशसभा सदस्यमा निर्वाचित पाठक २०७९ पुस २९ गते बागमती प्रदेश सभाको सभामुखमा निर्वाचित भएका थिए ।



























































