काठमाडौँ – सन्धुपाल्चोकको तातोपानी नाकाबाट चिनियाँ पक्षले नेपाली कन्टेनर नछाड्दा समस्यामा परेको व्यापारिहरुले गुनासो गरेका छन् ।
लामो समयदेखि अबरुद्ध अरनिको राजमार्ग खुलेको अवस्थामा पनि चिनियाँ पक्षले नेपाली कन्टेनर नछाड्दा आफूहरु समस्यामा परेको उनीहरुले गुनासो गरेका छन् । चाडपर्वलाई लक्षित गरि नेपाल ल्याउन लागेको सामानहरु चीनतर्फ नै अड्किदा करौडौंको नोक्सानी हुने अवस्था आएको उनीहरुको भनाइ छ ।
ट्रान्स शिल्क टर्मिनलका निर्देशक अनिरुद्र थापाले चाइनातर्फबाट नेपाल आउने गाडीहरु सहज रुपमा आउन नसकेको बताए । उनले चाडपर्वलाई लक्षित गरि व्यवसायीहरुले मगाएका सामानहरु अड्किदा धेरै नोक्सानी हुने अवस्था देखिएको जिकिर गरे । औसतमा हरेक दिन ३० वटा कन्टेनर नेपाल आउने गरेकोमा अहिले निकै कम गाडीमात्र चिनिया पक्षले छाडेको उनको भनाइ छ ।
त्यस्तै हिमालय सिमापार वाणिज्य संघ सदस्य बलराम ढकालले नेपाली भूभागमा रहेका गाडीहरु आएपनि सीमापारी रहेका गाडीहरुलाई चिनिया पक्षले नेपाल नपठाएको बताए । यस विषयमा सरकारले चिनिया पक्षसंग छलफल गर्नुपर्ने उनले बताए ।
तातोपानी भन्सार सिन्धुपाल्चोकका सूचना अधिकारी रमेश शाहले तुलनात्मक रुपमा चीनबाट निकै कम गाडी आएकाले चिनिया पक्षसंग समन्वय भइरहेको जानकारी दिए । चीनतर्फ प्रयाप्त जनशक्ति नभएकाले कम गाडी पठाएको जवाफ आएको भन्दै उहाले छिटै सहज रुपमा गाडीहरु नेपाल आउने विश्वास व्यक्त गरे ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोले अवरुद्ध अरनिको राजमार्ग केहिदिनअघि मात्रै खुलेको थियो । लामो समयपछि सडक खुल्दा पनि कन्टेनरहरु सहज रुपमा नेपाल भित्रन नसकेपछि व्यवसायीहरु चिन्तित भएका छन् ।



























































