काठमाडौं–आगामी वैशाख १५ देखि १७ गतेसम्म लुम्बिनीमा हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तीव्र पारिएको छ । हरेकवर्ष जस्तै आगामी १७ गते २५ सय ६२ औं बुद्धजयन्ती विशेष समारोहका बीच मनाइँदै छ । त्यसको दुई दिनअघि १५ र १६ गते बुद्धजन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुँदैछ ।


ADVERTISEMENT


दुई दिनसम्म चल्ने सम्मेलनमा सहभागी अतिथिहरुले तेस्रो दिन हुने बुद्ध जयन्तिको विशेष समारोहमा सहभागिता जनाउने कोषका उपाध्यक्ष अवदेशकुमार त्रिपाठीले बताए । लुम्बिनीलाई बौद्धधर्मको उद्गमस्थल, विश्व शान्तिको मुहानका रुपमा अघि बढाउने र बौद्ध धर्मको महत्व प्रचारप्रसार तथा अध्ययनलाई विश्वभर फैलाउने उद्देश्य सहित आयोजना हुने सम्मेलनमा २३ बढी देशका अधिकारीहरुले सहभागिता जनाउने छन् ।


ADVERTISEMENT

# # #


जसमध्ये १६ देशले बुद्ध जीवनीमा रहेर कार्यपत्र प्रस्तुत गर्दै छन् । लुम्बिनी नेपालः बुद्धजन्मस्थल तथा बौद्ध दर्शन र विश्व शान्तिको मुहान भन्ने नारा सहित आयोजना गरिएको सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय बुद्धिष्ट हबका रुपमा विकास गर्न योगदान गर्ने विश्वास गरिएको छ । सम्मेलनमा बौद्धमार्गी भिक्षु तथा लामा र बौद्ध अध्येता तथा विद्वान् गरी दुईथरी बौद्ध विद्वानहरुको सहभागिता रहने लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनीमा ठूला सभा समारोह गर्न व्यवस्थीत सभाहल छैनन् । तर यसपटकको बुद्धजयन्ति भने सभाहलमा हुने भएको छ । लुम्बिनीमा स्थान अभाव देखाउँदै २ वर्षअघि बुद्धको महिमाका लागि आयोजित सम्मेलन लुम्बिनीको सट्टा काठमाडौंमा भएको थियो ।

तर उक्त सम्मेलनमा सहभागी बौद्धमार्गी र बौद्ध विद्वानहरुले सम्मेलन बुद्ध जन्मस्थलमै हुनुपर्ने सुझाव दिएपछि अहिले यहाँको आध्यात्मिकतालाई जोडेर लुम्बिनीमै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्न लागिएको हो ।

दुई वर्षअघि लुम्बिनीमा पाँच हजार क्षमताको सभाहल बनाउने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अझैसम्म सभाहल निर्माण नभएपछि यसवर्ष मन्त्रिपरिषद्को निर्णय गराई ३ हजार क्षमताको अस्थायी सभाहल निर्माण गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीको सोही निर्देशनपछि चैत पाँच गतेदेखि सभाहल निर्माणको कार्य भईरहेको छ । ४ करोड लागतमा नेपाली सेनाको निगरानीमा निर्माण भईरहेको अस्थायी सभाहलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

स्थायी सभाहल नबन्दा सम्म ३र४ वर्ष सम्मलाई काम चलाउने गरी निर्माण गरिएको सभाहल अबको एक साता भित्र निर्माण सम्पन्न हुने लुम्बिनी विकास कोषले जनाएको छ ।

फलामे डण्डी, जस्ता प्लाईउडबाट निर्माण गरिएको सभाहलमा अहिले विद्युत जडान, रंगरोगन र बाहिरी सजावटको कामलाई तिव्रता दिईएको छ। सभाहलको लागि ३ हजार प्लाष्टिकका कुर्चीसमेत खरिद गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

विगतमा हुँदै आएका बुद्ध जयन्ती समारोहमा चर्को गर्मी, हावाहुरी र वर्षाले समेत प्रभावित हुँदै आएका थिए । तर यसपटक भने अस्थायी रुपमै भएपनि निर्माण भईरहेको सभाहलका कारण बुद्धजयन्ती समारोह विगतमा भन्दा व्यवस्थीत हुने विकास कोषले दावी गरेको छ।

बुद्धजयन्तीसँगै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएपछि यसैसाता संस्कृती पर्यटन तथा उड्डयनमन्त्री रविन्द्र अधिकारीले लुम्बिनी आई विकासकोषका पदाधिकारी, सुरक्षा निकाय तथा अन्य सरोकारवालासँग छलफल गरेका थिए।