काठमाडौं–नेपाल ट्रस्टको कार्यालयले दरबारमार्गको जग्गा भाडामा दिँंदा ५ अर्ब रुपैयाँ अनियमितता गरेको छ । ट्रस्टका सचिवले गरेको निर्णयलाई एक सहसचिवले लत्याउँदै ५ अर्ब रुपैयाँ घोटाला गरेको ठहर महालेखा परीक्षकको प्रतिवेदनले गरेको छ ।


ADVERTISEMENT


सचिव नेतृत्वको आर्थिक प्रस्ताव मूल्यांकन समितिले २०७३ असोज १९ मा निर्माण र लिज भाडासहित ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार रुपैयाँको प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको थियो। तर, ट्रस्टले १ अर्ब ५९ करोड ४० लाख ५२ हजार रुपैयाँमा सम्झौता गरी ५ अर्ब घोटाला गरेको हो ।


ADVERTISEMENT

# # #


जग्गा भाडामा दिनका लागि संरचना बनाउन ट्रस्टले बोलपत्र आह्वान गरेको थियो । परेका बोलपत्र प्रस्ताव दुई महिनामा खोलियो । नियमअनुसार ९० दिनभित्र प्रस्ताव स्वीकृत गरिसक्नुपर्ने थियो । परेका बोलपत्रको म्याद गुजारी ९ महिनापछि कानुनविपरीत पहुँचको फर्मको प्रस्ताव स्वीकृत गरी यति ठूलो रकम घोटाला गरिएको हो । ट्रस्ट सञ्चालक समितिको २०७१ साउन २८ मा बसेको ३१औं बैठकले करिब १ रोपनी १४ आना जग्गा भाडामा दिने प्रस्ताव स्वीकृत गरेको थियो । एक सहसचिवको मनोमानीमा साढे १ अर्ब रुपैयाँमा यससम्बन्धी सम्झौता भएको थियो ।

सचिवस्तरबाट भएको निर्णयभन्दा फरक निर्णय सहसचिवले गर्नु कानुनविपरीत भएको ठहरसहित महालेखाको प्रतिवेदनमा अनियमितता गर्नेलाई तुरुन्त छानबिन गरी कानुनको दायरामा ल्याउन सुझाइएको छ । यसरी निर्णय गर्ने सचिव र सहसचिव को थिए भन्ने भने प्रतिवेदनमा खुलाइएको छैन ।

भाडामा दिनुअघि संरचना बनाउन ३ वर्ष लाग्ने अनुमानसहित व्यावसायिक प्रयोगका लागि २७ वर्ष गरी ३० वर्षेको भाडासम्बन्धी कागजातसमेत स्वीकृत गरिएको थियो । संरचना बनाउन २० करोड लाग्ने अनुमान गरिएको थियो । उक्त भौतिक संरचनाबाट न्यूनतम मासिक ३७ लाख भाडा आउने सर्तसहित २०७३ असार १४ मा बोलपत्र प्रस्ताव माग गरिएको थियो ।

ट्रस्टको निर्णयअनुसार संरचना निर्माण अवधि ३ वर्ष र व्यावसायिक प्रयोग अवधि २७ वर्षसमेत ३० वर्षको लागि प्रस्ताव माग गर्नेगरी भाडासम्बन्धी कागजात स्वीकृत भएको देखिन्छ । निर्माण लागत कम्तीमा २० करोड हुने अनुमानका आधारमा विगत ५ वर्षमध्ये ३ वर्षको कुल कारोबार रकम ३० करोड रुपैयाँ हुनुपर्ने महालेखाले औंल्याएको छ । न्यूनतम भाडा मासिक ३७ लाख ४९ हजार ९ सय ७२ रुपैयाँ हुनेलगायतका सर्तसहित २०७३ असार १४ मा बोलपत्र प्रस्ताव आह्वान गरेको महालेखाले उल्लेख गरेको छ । – आजको नागरिक दैनिकबाट