काठमाडौँ– सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको भन्दै परेको निवेदन दर्ता गर्न अस्वीकार गरेको छ।


ADVERTISEMENT


कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको इजलासले मनोज कुमार अधिकारीको उक्त निवेदनलाई दरपीठ गर्ने सर्वोच्च प्रशासनको निर्णय नै सदर गरेको हो।


ADVERTISEMENT

# # #


डाक्टर केसीको मुद्दा मिलाउन उनका वकिललाई धम्की दिनेसम्म काम गरेर प्रधानन्यायाधीश पराजुलीबाट अदालतको अवहेलना भएको भन्दै अधिकारीले निवेदन दिएका थिए। प्रधानन्यायाधीश पराजुलीको कुन कार्यले अवहेलना भयो त्यसको पुष्टि हुने आधिकारिक प्रमाण नल्याएको भन्दै सर्वोच्चका सह–रजिष्ट्रार नारायण पन्थीले सुरूमा उक्त निवेदन दरपीठ गरेका थिए।

‘सम्माननीय प्रधानन्यायाधीशको कुन कार्यले अदालतको अवहेलना भयो त्यो कार्यको पुष्टि हुने आधिकारिक प्रमाण बेगर पत्रिकामा प्रकाशन गरेको समाचारलाई लिएर अदालतको अवहेलनामा कारवाही गरी पाउँ भनि प्रस्तुत हुन आएको निवेदन दर्ता गर्न मिलेन,’ सह–रजिष्ट्रार नारायण पन्थीको दरपीठ आदेशमा उल्लेख छ।

जोशी र केसीको इजलासले यही आदेश सदर गरेको हो। निवेदकले भने डाक्टर गोविन्द केसीलाईको मुद्दा मिलाउन प्रधानन्यायाधीशले उनका वकिललाई भेटेर दबाब दिनु नाजायज भएको भन्दै पराजुली विरुद्ध अवहेलना मुद्दा पेश गरेका थिए।

डाक्टर केसीले तत्कालीन प्रधानन्यायाधीश पराजुलीलाई भ्रष्ट र माफिया भन्दै राजीनामा मागेपछि उनीविरुद्ध सर्वोच्च अदालतले अवहेलना मुद्दा दायर गरेको थियो।

डाक्टर केसीले माफी मागेमा वा आवेशमा आएर बोलेको हुँ भनेदेखि मुद्दा फिर्ता गर्नेसम्मको प्रलोभन प्रधानन्यायाधीशले दिएको भन्दै केसीका मुख्य वकिल सुरेन्द्र भण्डारीले सार्वजनिक गरेका थिए। आफूले नमानेपछि तत्कालीन प्रधानन्यायाधीश पराजुलीले मार्नेसम्मको धम्की दिएको पनि उनले सार्वजनिक गरिसकेका छन्।

आफूमाथि प्रधान्यायाधीशबाट असुरक्षा भएको भन्दै भण्डारीले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए। अधिकारी भने वरिष्ठ अधिवक्ता भण्डारीलाई मुद्दा मिलाउन र नमानेपछि मार्नेसम्मको धम्की दिएर प्रधानन्यायाधीशले न्यायसम्पादनमा अवरोध पुर्‍याएको दाबीसहित सर्वोच्च पुगेका थिए।