काठमाडौं–प्रहरी कर्मचारीले बढुवाका लागि मानपदवी (तक्मा) बापत पाउने २ अंक प्रस्तावित संघीय प्रहरी ऐनबाट हटाइएको छ । कार्यक्षेत्रमा खटिँदा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीले तक्मा नपाउने तर भनसुन गर्नेले पाउन थालेपछि मानपदवीबापतको २ अंक हटाउन प्रस्ताव गरिएको हो। विद्यमान प्रहरी ऐनअनुसार कार्यक्षमता मूल्यांकन गर्दा पाउने १०० अंकमा विभूषण, मानपदवी, अलंकार तथा पदकबापत २ अंक पाउने व्यवस्था छ । यो अंक जुनसुकै तहका प्रहरी कर्मचारी बढुवा हुँदा पाउँछन् ।


ADVERTISEMENT


तक्माका लागि गृह मन्त्रालय वा गृह र प्रहरी प्रधान कार्यालय दुवै निकायबाट सिफारिस हुन्थ्यो । प्रहरी प्रधान कार्यालयले कारणवश सिफारिस नगरे पनि पहुँचवाला प्रहरी कर्मचारीले गृह मन्त्रालयबाट सोझै तक्मा लिने गरेका थिए । यसपटक पनि गृहका कर्मचारीमाथि सिफारिसका लागि दबाब पर्न थालेपछि मन्त्रालयबाट प्रदान गरिने तक्माको अंक काट्न प्रस्ताव गरिएको हो । संघीय प्रहरी ऐनमा बढुवाका लागि अंकभार तोक्ने विषयमा केही दिनअघि भएको छलफलमा यस्तो प्रस्ताव गरिएको मन्त्रालय स्रोतले जनायो ।


ADVERTISEMENT

# # #


नयाँ व्यवस्थाअनुसार कार्यसम्पादन मूल्यांकनबापत ४०, ज्येष्ठताबापत २०, भौगोलिक क्षेत्रमा काम गरेबापत ८, शैक्षिक योग्यताबापत १०, तालिमबापत ७.५, चुनौतीपूर्ण–विशेष जिम्मेवारीबापत ७ र बढुवा समितिले दिने ७.५ अंक कायम गर्न प्रस्ताव गरिएको छ । यसअघि विशेष जिम्मेवारी वा चुनौतीपूर्ण काम गरेबापतको अंक ५ थियो । नयाँ ऐनमा यसलाई मानपदवीबापतको २ अंक थपेर ७ अंक प्रस्ताव गरिएको हो ।

गृह मन्त्रालयले प्रहरी महानिरीक्षक (आइजिपी) सहित विशिष्ट श्रेणीका अधिकृत र कार्यालय प्रमुखलाई बलियो बनाउन चुनौतीपूर्ण कार्य गरेबापतको अंकभार बढाउन प्रस्ताव गरेको हो । चुनौतीपूर्ण काम गरेबापतको ७ अंक सीधै कार्यालय प्रमुखले दिन पाउनेछन् । ‘प्रहरी कर्मचारीहरू चेन अफ कमान्डमा भन्दा पनि बढी राजनीतिक दलका नेताकार्यकर्ताकहाँ धाउने प्रवृत्ति बढ्न थाल्यो, जसले गर्दा गृह मन्त्रालयले दिने तक्माकै दुरुपयोग भयो । त्यसैले यसलाई ऐनबाट हटाएर सम्बन्धित कार्यालय प्रमुखले दिने व्यवस्था गर्न लागिएको हो,’ मन्त्रालय स्रोतले भन्यो । – आजको नागरिकबाट