काठमाडौँ – जिल्ला प्रशासन कार्यालय मोरङमा राष्ट्रिय परिचय पत्र वितरण कार्य पुनः सुरु भएको छ ।
जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा बन्द भएको राष्ट्रिय परिचय पत्र बितरणको कार्य निर्माण व्यवसायी संघ मोरङले टिनको छानो सहितको भवन निर्माण गरिदिएपछि पुनः शुरु भएको हो । बुधवार एक कार्यक्रम बीच मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भवनको उद्घाटन गर्दै सेवा सुचारु भएको जानकारी दिए ।
भिडभाड व्यवस्थापन गर्दै राष्ट्रिय परिचय पत्र बितरण कार्यलाई सहज रुपमा अघि बढाउने उनले बताए । निर्माण व्यवसायी संघ मोरङले करिब १८ लाख रुपैयाको सहयोगमा राष्ट्रिय परिचय पत्रको फोटो खिच्ने भवन बनाईदिएको छ भने राहदानी सेवा फाँट, मुद्दा फाँट र नागरिकता फाँट मर्मत सम्भार गरेको जनाएको छ ।
फोटो खिच्ने कार्य शुरु भएपनि आगजनीका कारण हराएका र नष्ट भएका राष्ट्रिय परिचय पत्र वितरणमा केही समय लाग्ने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।



























































