बुटवल– ५६२ औं बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनलाई लक्षित गरी लुम्बिनीमा एकीकृत सुरक्षा व्यवस्था मिलाइएको छ ।


ADVERTISEMENT


लुम्बिनीमा यही वैशाख १५ र १६ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र १७ गते बुद्ध जयन्ती मनाइँदैछ । उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीका साथै विभिन्न १५ मुलुकबाट संस्कृति तथा धार्मिक मामिला मन्त्री र २३ देशका विभिन्न तहका विशिष्ट ब्यक्तिहरु सहभागी हुँदैछन् ।


ADVERTISEMENT

# # #


स्वदेश र विदेशबाट विशिष्ट पाहुनाहरुको आगमन हुने हुँदा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको तैनाथीमा तीन घेराको एकीकृत सुरक्षा व्यवस्था मिलाएको छ ।

बौद्ध सम्मेलन र बुद्ध जयन्तीलाई सुरक्षा प्रदान गर्न दुई सयको संख्यामा नेपाली सेना, आठ सय सशस्त्र प्रहरी र तीन सय नेपाल प्रहरी तैनाथ हुने रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए ।

‘बौद्ध सम्मेलन र बुद्ध जयन्ती अन्तर्राष्ट्रियस्तरको कार्यक्रम भएको र देश–विदेशबाट विशिष्ट व्यक्तित्वको सहभागिता हुने भएकोले सबै सुरक्षा निकायको समन्वय र सहभागितामा एकीकृत सुरक्षा व्यवस्था अपनाएका छौं’ उनले भने ‘नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, ट्राफिक प्रहरी सबै गर्दा करिब पन्ध्र सय सुरक्षाकर्मी परिचालित हुन्छन् ।’

कार्यक्रमस्थल लुम्बिनीबाहेक नवलपरासीदेखि कपिलवस्तुसम्मका विभिन्न ठाउँ र दक्षिणी सीमा क्षेत्रमा आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था मजवुत पार्ने प्रहरी प्रमुख ज्ञवालीले जानकारी दिए ।

सुरक्षा र ट्राफिक व्यवस्थापनलाई मध्यनजर गरी प्रशासनले वैशाख १५ देखि १७ गतेसम्म भैरहवाको बुद्धचोकदेखि लुम्बिनीसम्म बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म ट्रक, ट्याङकर, ट्याक्टरलगायतका मालवाहक गाडी चलाउन रोक लगाएको छ ।

बौद्ध सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले र बुद्ध जयन्ती मूल समारोहको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने कार्यक्रम छ । यसबर्षको बौद्ध सम्मेलनको नारा ‘लुम्बिनी, नेपाल : भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गमभूमि तथा विश्व शान्तिको मुहान’ रहेको छ ।

सम्मेलनमा सम्मेलनमा १६ विदेशी र १६ नेपाली विद्वानले विभिन्न शीर्षकमा ३२ वटा कार्यपत्र प्रस्तुत गर्नेछन् ।