तरकारीमा प्रयोगका लागि दैनिक रूपमा तेलको आवश्यकता पर्छ । स्वास्थ्यका लागि पनि सामान्यतया दैनिक १० प्रतिशत फ्याटको आवश्यकता हुन्छ । यद्यपि, तौल र उचाइअनुसार मानिसलाई फरक–फरक मात्रामा चिल्लो पदार्थ आवश्यक हुन्छ । कतिपय भिटामिन घुल्नका लागि स्वास्थ्यमा चिल्लो पदार्थको जरुरी हुन्छ । तर, हामीले खाने चिल्लो पदार्थ वा तेल स्वस्थ नभएको अवस्थामा भने स्वास्थ्यमा हानि पुग्छ । त्यसैले खानेतेलको छनोटमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।


ADVERTISEMENT


पटक–पटक तताएको तेल प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । त्यसैले तेललाई एकपटक मात्र तताएर प्रयोग गर्नुपर्छ । किनकि, पटक–पटक तताएको तेल विषाक्त हुन्छ ।


ADVERTISEMENT

# # #


बजारमा पाइने जेरी, पुरी, मिठाईहरू विषाक्त तेलमा बनाइएका हुन्छन् । दिनभरि एउटै तेलमा तताएर यस्ता खाद्यपदार्थ तयार पारिन्छन् । त्यसैले यस्ता खानेकुरा प्रयोग नगर्दा राम्रो हुन्छ ।

बजारमा स्वदेशी र विदेशी ब्रान्डका तेल सुलभदेखि महँगो मूल्यसम्मको उपलब्ध छन् । उपभोक्ताले तेल खरिद गर्दा कहाँ र कहिले बनेको भन्ने कुरामा राम्रोसँग ध्यान दिनुपर्छ । तेलमा मिसावट छ कि छैन भनेर नांगो आँखाले हेर्न सकिँदैन । त्यसैले हामीले तेल प्रयोग गर्ने वेलामा सचेत हुनुपर्छ ।

मिसावट भएका तेल चाँडै बिग्रिने समस्या हुन्छ । त्यसैले राम्रोसँग बुझेर मात्र तेलको प्रयोग गर्नुपर्छ । सञ्चारमाध्यममा आउने विज्ञापनलाई मात्र आधार बनाएर तेल खरिद गर्नुहुँदैन ।

त्यस्तै, वनस्पति घ्यू प्रयोग भएका खाद्यपदार्थ स्वास्थ्यका लागि हानिकारक मानिन्छ । त्यसैले सकेसम्म शुद्ध तोरीको तेल प्रयोग गर्नु राम्रो हुन्छ ।

तरकारीमा पनि तेलको मात्रा बढी राख्नु हुँदैन । त्यस्तै, मुटुरोगीले तेलको कम प्रयोग गर्नुपर्छ । यस्ता बिरामीका लागि ओलिभ आयल राम्रो मानिन्छ ।