प्रेम रौले बाजुरा– उत्तरी बाजुरामा रहेका दलित समुदायका मानिस तीन पुस्तादेखि गैरदलितको हलिया बस्दै आएका छन् । बाजे हुँदै बुबा र छोरासमेतले गैरदलितको हलो जोत्दै आएका छन्, तर पनि परिवार धान्न मुस्किल छ ।


ADVERTISEMENT


बाह्र वर्षदेखि हलिया बस्दै आएका कोल्टी गाविसका नन्द सार्की उनी अहिले ६५ वर्षका भएका छन् । बाजे, बुबा र अहिले आफूसमेत हलिया बस्दै आएको उनी बताउँछन् । बाजे भक्त सार्कीबाट साहु घमण्ड भारतीको हलो जोत्ने काम आफ्नो पुस्तामा हस्तान्तरण भएर आएको सार्कीको भनाइ छ । “बाजेले २५ पाथी फल्ने जग्गाको हलो जोत्दै आउनुभएको थियो, मैले पनि त्यही जग्गाको हलो जोत्दै आएको छु” – उनले भने । साहुले कमाइ खान जग्गा दिएको भए पनि सरकारले मुक्त हलियालाई पुनःस्थापना गर्ने कार्य सुरु गरेपछि त्यो जग्गासमेत फिर्ता लिएको सार्कीको गुनासो छ ।


ADVERTISEMENT

# # #


सार्कीजस्तै ६० वर्षका रङ्गलाल ल्वार पनि १६ वर्षदेखि गैरदलितको हलिया बस्दै आएका छन् । उनी एकजनाको मात्र हलिया होइनन् । दुईजना जग्गाधनीको दैनिक हलिया बस्दै पालोपालो हलो जोत्दै आएको उनी बताउँछन्। “बुबा हलियाको काम गर्दै गरेका बेला मैले पनि गैरदलितको हलो जोत्न थालेको हुँ” – उनले भने । उनले १० पाथी फल्ने टिमुरी जोशी र तीन रोपनीभन्दा बढी भएको जग्गाका धनी बलदेव रेग्मीकहाँ हलियाको काम गर्दै आएका छन् । हलो जोते मात्र खान र घरका लागि अन्न दिने गरेको र हलो नजोते खानसमेत नदिने गरेको उनको गुनासो छ ।

सरकारले हलिया पुनःस्थापनाको कार्यक्रम सञ्चालन गरेपछि साहुले सरकारले दिन्छ भन्दै हलो जोत्न नदिएको हलियाहरु बताउँछन् । “दैनिकरुपमा हलो जोत्दै आएको थिएँ तर अब के गर्ने भन्ने चिन्ताले सताइरहेको छ” – सार्कीले भने । सार्की र ल्वार जस्तै बाँधु–१ का ६० वर्षीय जसन्ते ल्वार हलिया बसेको ३० वर्ष पुगेको अनुभव सुनाउँछन्। सरकारबाट हलिया परिचयपत्र पाएको दुई वर्ष बितेको र परिचयपत्र पाएपछि साहुले पनि हेप्न थालेको ल्वारको भनाइ छ ।

हलियालाई पुनःस्थापना गर्न थालेपछि जग्गाधनीले नै घरदैलोमा आउन नदिने गरेको उनले बताए । ‘हाम्रो घरमा किन आएको ? तिमीहरुको सरकारले दिन्छ नि सबैथोक’ भन्दै जग्गाधनीले हलियालाई गालीगलौज गर्ने गरेको हलियाहरु बताउँछन् । घरमा चारजनाको परिवारलाई हलो जोतेर धानिरहेका ल्वार नर्वदा शर्माको तीन रोपनी जग्गाको हलिया बस्दै आएका थिए । हलिया बस्दासम्म साहुले खेती गर्न केही जग्गा पनि दिएको तर हलिया परिचयपत्र पाएपछि कमाइ खाने जग्गासमेत खोसेको उनको गुनासो छ ।

बाँधु–९ का ५९ वर्षका वीरभान सार्की तीनजनाको हलिया बस्दै आएका छन् । पन्ध्र वर्ष उमेर हुँदा देखि तीनजनाको हलिया बस्न थालेका प्रत्येक दिन पालैपालो गरेर हलो जोत्दै आएको उनी बताउँछन्। उनले तीनैजना साहुको २५ पाथीदेखि ६० पाथी फल्ने जग्गाको हलो जोत्दै आएका छन् । हलिया बस्दै आएका भए पनि साहुबाट उनले कुनै सुविधा पाएका छैनन् । साहुलाई समस्या परेको कुरा सुनाउँदा उल्टै गाली गरेर घर फर्काउने गरेको सार्कीेले बताए । सार्कीले सरकारबाट हलिया परिचयपत्र पाएको तीन वर्ष पुगेको छ । हलिया परिचयपत्र पाएपछि साहुको हलो जोते मात्र उनले आधा खाना खर्च पाउँछन् । हलो नजोत्दा खाना नै नदिने गरेको उनको दुःखेसो छ ।

पुस्तौँदेखि हलिया बस्दै आएका कोल्टीका ४० वर्षीय गोरख चदारा हलिया बसेको २४ वर्ष पूरा भयो । सोह्र वर्षको हुँदा कोल्टीमा जग्गाधनी शिवलाल बोहराको हलिया बसेको उनी सम्भन्छन् । बोहराको घरमा बाजे, बुबा र अहिले आफूसमेत हलिया बस्दै आएको चदाराले राससलाई जानकारी दिए । अहिले साहुको हलो जोत्न छोडेपछि आफूलाई कमाइ खानका लागि दिएको जग्गासमेत फिर्ता लिएको उनले बताए । घरमा चारजनाको परिवार छ र चदारालाई परिवार कसरी पाल्ने भन्ने चिन्ता छ ।

जिल्लाका उत्तरी भेगमा हलिया मात्र होइनन्, पछिल्लो समयमा खलियासमेत रहने गरेका छन् । गैरदलितको जग्गाबाट विभिन्न बाली खलोमा लिएर दिनभर काम गरेपछि मात्र दुई पाथी जति धान, गहुँ लगायतका अन्न बाली पाउँछन् उनीहरु । सदियौँदेखि हलिया र खलियाको पुनःस्थापनाका लागि दलित अगुवाले आन्दोलन गर्दै आएका छन् । तर पनि राज्यको ध्यान पुग्न सकेको छैन ।

भूमिसुधार मन्त्रालयले जिल्लाका ‘घ’ वर्गका चार सय ३२ जना हलियालाई पहिलो किस्ताबापत ५० हजार रुपैयाँका दरले अनुदान दिएको छ । जिल्लाका ९० जना हलियाका लागि बाँड्न रु दुई करोड अनुदान कम भएको बताइएको छ । हलियाका लागि काम गर्ने संस्था हलिया मुक्ति समाज बाजुराले कुरा अनुसार काम गर्न नसकेको हलियाको गुनासो छ ।