काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन र अध्ययन गर्न ७ सदस्यीय संसदीय टोलीको गठन गरिएको छ ।


ADVERTISEMENT


संसदको सुशासन तथा अनुगमन समितिले शुक्रबार सांसदहरू जनकराज जोशी, कृपाशुर शेर्पा, जितु गौतम, सरिता यादव, मिलन राजवंशी, नागेन्द्र कुमाल र अम्बिका राजवंशी सम्मिलित टोली गठन गरेको हो । उक्त टोलीले विमानस्थलको व्यवस्थापकीय, सुरक्षा र अध्यागमन लगायत विभिन्न पक्षहरूको बारेमा अध्ययन गरेर १५ दिन भित्रमा समितिमा प्रतिवेदन पेश गर्ने छ । ‘विमानस्थलको सम्पूर्ण पक्ष अध्ययन गरेर १५ दिन भित्रमा अध्ययन प्रतिवेदन बुझाउन समितिलाई १५ दिनको समय दिइएको छ,’ समितिका सभापति मोहनसिंह राठौरले भने, ‘उपसमितिको संयोजक भने उनीहरूले नै छान्ने छन् ।’


ADVERTISEMENT

# # #


पुस २३ गते विमानस्थलबाट ३३ किलो ५ सय ७७ ग्राम ४० मिलिग्राम सुन बाहिरिएपछि त्यसमा संलग्नलाई प्रहरीले पक्राउ गरेको थियो । त्यहाँको कमजोरीबारे अनुगमन तथा अध्ययन गर्न समितिका सांसदहरूको टोली बिहीबार विमानस्थलमा पुगेको थियो । विमानस्थलबाट फर्केलगत्तै समितिका सभापति राठौरले उपसमिति बनाएर छानबिन गर्ने बताएका थिए । उक्त घटनासँगै विमानस्थलमा हुने अन्य कमजोरीलाई आधार मानेनर समितिले अनुगमन गरेको हो ।

सभापति राठौरले उपसमितिको प्रतिवेदन आएपछि त्यसलाई अध्ययन गरेर निष्कर्षमा पुग्ने बताए । उनले भने, ‘उपसमितिले के निष्कर्ष निकाल्छ, त्यहि आधारमा अघि बढ्ने छौं ।’