काठमाडौं – एन आई सी एशिया बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिओ) सुजित कुमार शाक्यले आज औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।


ADVERTISEMENT


बैंकको सञ्चालक समितिको कार्तिक १७ गते बसेको ७३६औं बैठकले शाक्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो।


ADVERTISEMENT

# # #


झन्डै तीन दशकदेखि बैंकिङ क्षेत्रमै सक्रिय रहँदै आएका शाक्यले भारतको नयाँ दिल्लीस्थित दिल्ली विश्वविद्यालयबाट ब्याचलर इन कमर्स र भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनऊ बाट व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।

सन् १९९६ मा तत्कालीन नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट बैंकिङ यात्रा सुरु गरेका शाक्यले हिमालयन बैंक, लक्ष्मी बैंक, बैंक अफ एशिया नेपाल, सिभिल बैंक, जनता बैंक र ग्लोबल आईएमई बैंकमा विभिन्न नेतृत्व पदमा कार्य अनुभव हासिल गरेका छन्।

तत्कालीन बैंक अफ एशिया नेपाल र एन आई सी बैंकको मर्जर प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका शाक्यले मर्जरपछि बनेको एन आई सी एशिया बैंकमा सहायक महाप्रबन्धकका रूपमा कर्पोरेट बैंकिङ प्रमुख भएर कार्य गरेका थिए। नबिल बैंक लिमिटेडमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रहँदै आएका शाक्य हाल एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत बनेका हुन्।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार, “शाक्यज्यूको दीर्घ बैंकिङ अनुभव, स्पष्ट रणनीतिक दृष्टिकोण र उत्कृष्ट नेतृत्व क्षमताका कारण बैंकले आगामी दिनमा थप सफलता हासिल गर्ने विश्वास लिएको छ।”

शाक्यको नेतृत्वमा एन आई सी एशिया बैंकले अझ सशक्त, गतिशील, विश्वसनीय र परिणाममुखी बैंकिङ अभ्यासमार्फत संस्थालाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्‍याउने अपेक्षा बैंकले व्यक्त गरेको छ।