काठमाडौं–ललितपुर महानगरपालिकाले विद्युतीय बस र स्मार्ट सडकबत्ती ल्याउने योजना अघि सारेको छ । सार्वजनिक–साझेदारी (पीपीपी) मोडलमा विद्युतीय बस सञ्चालन गर्ने महानगरको गृहकार्य छ । केही कम्पनीले सम्पूर्ण लगानी गर्ने र केहीले साझेदारीमा बस चलाउने प्रस्ताव गरेका छन् ।


ADVERTISEMENT


प्रस्तावमाथि अध्ययन अघि बढाइएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । ‘अब विद्युतीय बस सञ्चालन गर्नुपर्छ भन्ने निश्कर्षमा हामी पुगेका छौं’ महर्जनले भने, ‘विद्युतीय सवारी वातावरण मैत्री हुने भएकाले ललितपुर जस्तो सांस्कृतिक था पर्यटकीय नगरीका लागि महत्वपूर्ण हुन्छ ।’


ADVERTISEMENT

# # #


उचित तथा व्यवहारिक प्रस्तावलाई महानगरको पीपीपी कमिटीले अध्ययन गरेर कार्यपालिका बैठकमा पेश गर्नेछ । ‘हामी साझा बससँग पनि सहकार्य गर्न सक्छौं । कम्पनीहरूसँग पनि सहकार्य गरेर विद्युतीय बस चलाउन सक्छौं’ प्रवक्ता भने, ‘केही समयभित्रै यस सम्बन्धमा ठोस निर्णय हुन्छ । हामी तीव्र रूपमा गृहकार्य गरिरहेका छौं ।’

साझा यातायातले पनि विद्युतीय बस ल्याउन निजी क्षेत्रसँग सहकार्य गर्ने प्रयास गरिरहेको छ । विद्युतीय बस ल्याउँदा सरकारले सहुलियत ऋण दिनु पर्ने उसको माग छ । अहिले सुविधासम्पन्न विद्युतीय बसको मूल्य करिब दुई करोड पर्छ । तर, शुरुमा महँगो परेपनि मर्मत खर्च डिजेल गाडीको भन्दा निकै कम पर्ने वातावरणविद् भुषण तुलाधर बताउँछन् ।

‘बसका ब्याट्रीमा १२ वर्षसम्म ग्यारेन्टी पाइन थालेको छ । त्यसैले १०–१२ वर्षसम्म बस मर्मतमा ठूलो खर्च गर्नुपर्दैन,’ तुलाधर भन्छन्, ‘यसले दिने फाइदा र सस्तो सञ्चालन खर्चका कारण यो निकै प्रभावकारी हुन्छ ।’

पेट्रोलियम आयात कम गर्न पनि बिजुलीको खपत बढाउनु जरुरी हुने ललितपुर महानगरका प्रवक्ता महर्जन बताउँछन् । नेपालमा बढ्दो वायु प्रदुषणमा गाडीबाट हुने प्रदुषण बढी छ । विद्युतीय बस धुवाँरहित हुने हुँदा यसको प्रयोगबाट काठमाडौंको प्रदुषण एकतिहाइ कम गर्न सकिने अध्ययनले देखाएको छ ।

स्मार्ट स्ट्रिटलाइटको योजना
ललितपुर महानगरपालिकाले अब मुख्य सडकहरूमा सोलार बत्ती जडान नगर्ने नीति लिएको छ । अघिल्लो वर्ष जोडिएका सोलार बत्तीहरू राति १ नबज्दै निभ्ने समस्या बढ्दै गएपछि अब थप सोलारबत्ती नजोड्ने मेयर चिरिबाबु महर्जनले जानकारी दिए । उनले अब विद्युतबाटै बल्ने स्मार्ट सडकबत्ती जोड्ने बताए । कुपण्डोलदेखि माथि मुख्य सडकहरूमा स्मार्ट स्ट्रिटलाइट राख्न अध्ययन सुरु भएको मेयर महर्जनले बताए । ‘स्मार्ट स्ट्रिटलाइट राख्न विद्युत प्राधिकरणसँग सहकार्य गर्दैछु’ उनले भने, ‘यस्ता बत्तीले कम विद्युत खपत गर्छन् । मानिसहरूको चहलपहल हुँदा सबै बल्छ, जब मानिसहरूको गतिविधि कम हुँदै जान्छ, क्रमशः पातलो बल्छ ।’

यसका लागि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सहयोग गर्ने वचन दिएका छन् । प्राधिकरणले पनि केही समयमै देश ऊर्जामा आत्मनिर्भर हुने अवस्था भएकाले देशभित्र खपत बढाउने योजना बनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सोलार बत्ती पनि विद्युत माग सन्तुलनका लागि आवश्यक रहेको बताउँछन् । तर, कुनै नगरपालिकाले विद्युत खपत गरेर सडकबत्ती राख्न चाहे प्राधिकरणले सहयोग गर्ने उनको भनाइ छ ।