काठमाडौं–पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भारत भ्रमणका बारेमा भइरहेका नकारात्मक टिप्पणीहरूको विरोध गरेका छन्। बिहीबार संसद् बैठकमा भट्टराईले छिमेकी मुलुकका प्रधानमन्त्रीको सम्मानमा कुनै कसर बाँकी राख्न नहुने बताए।


ADVERTISEMENT


‘हामी जे पनि लेखिरहेका छौँ’, प्रधानमन्त्री मोदीको भ्रमणबारे सामाजिक सञ्जालमा भइरहेका नकारात्मक टिप्पणीहरूतर्फ संकेत गर्दै भट्टराईले भने, ‘मलाई चित्त नबुझेको कुरा के छ भने– अतिथि देवो भवः हाम्रो संस्कृति हो, अथिति जो आए पनि सम्मान गर्नुपर्छ, अपमान होइन।’


ADVERTISEMENT

# # #


भारतका प्रधानमन्त्री मोदी शुक्रबार दुई दिनको भ्रमणका लागि नेपाल आउँदैछन्। संविधान निर्माणका क्रममा नेपालमा नाकाबन्दी लगाएको लगायतका विषयमा भारत र प्रधानमन्त्री मोदीबारे सामाजिक सञ्जालहरूमा अनेक टिप्पणीहरू आएका छन्।

भट्टराईले जोसँग सम्बन्ध हुन्छ, समस्या पनि उसैसँग हुने टिप्पणी गर्दै दुबै देशसँग असल सम्बन्ध बनाएर लगानी नल्याए नेपालको विकास सम्भव नभएको बताए। ‘जबसम्म दुई छिमेकीसँग सन्तुलित सम्बन्ध राख्न सक्दैनौँ, टाउको फोरे पनि हामी विकास गर्न सक्दैनौँ’, भट्टराईले भने।

चीन र भारतको बीचमा रहेको नेपालको भूराजनीतिलाई गम्भीर ढंगले सम्बोधन गर्न सक्नुपर्ने भट्टराईको सुझाव छ। ‘रिस उठेको बेलामा चर्का राष्ट्रवादी कुरा गर्ने तर अरु बेलामा सबै कुरा सुम्पिने कुरा ठिक होइन’, उनले भने, ‘सम्मानमा कमी नगरौँ, कुरा गर्दा हाम्रो स्वार्थलाई प्राथमिकता दिउँ।’

भट्टराईले समाजवादका ठूला कुरा गरेरमात्र विकास र समृद्धि नआउने टिप्पणी गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै भट्टराईले समाजवादको नाराले मात्र देशमा विकास र समृद्धि आउन नसक्ने बताएका हुन्।