काठमाडौँ – काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० फ्रेन्चाइज्ड क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित हात पारेको छ । सोमबार सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले हराएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको कर्णाली १९.२ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमै समेटिएको हो ।
कर्णालीका लागि पवन सर्राफले २६ बलमा सर्वाधिक २७, मार्क वाटले १७, सोमपाल कामीले १४ र अर्जुन घर्ती र गुल्शन झाले समान १३–१३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । कर्णालीलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले शानदार बलिङ गरे ।
सो क्रममा उनले ४ ओभरमा २३ रन मात्रै दिएर महत्वपूर्ण ४ विकेट चट्काए । यस्तै हरमित सिंहले ४ ओभरमा १ मेडेन राख्दै १९ रन खर्चिएर २ विकेट लिए भने अविनाश बोहराले ३.२ ओभरमा १४ रन दिएर २ विकेट हात पारे । यस्तै हेमन्त धामी, स्कट कुगेलाइनले समान १–१ विकेट लिए ।
यसअघि ब्याटिङतर्फ सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन बनाए । सो क्रममा उनले २८ बलमा चौका र २ छक्का प्रहार गरे । यस्तै आरिफ शेखले २७, हरमित सिंहले १९, क्रिस लिनले १८ तथा विनोद भण्डारी ११ र स्टक कुगेलाइनले १० रन हान्दा अन्यले दोहोरो अंक छुन सकेनन् ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा कर्णालीका कप्तान सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । सो क्रममा उनले ४ ओभरमा १ मेडेन राख्दै ३२ रन खर्चिए । यस्तै नन्दन यादवले २ विकेट लिए भने मार्क वाट, विपीन शर्मा र युवराज खत्रीले समान १–१ विकेट हात पारे ।
आजको जितसँगै सुदूरपश्चिमले ३ खेलमा ३ जितसहित ६ अंकका साथ शीर्ष स्थानमा पुगेको छ । यता कर्णालीले भने ३ खेलमा २ हार र १ जितहित २ अंक बटुलेको छ । यता विराटनगर किंग्सपनि ३ खेलमा तीन वटै जितसहित ६ अंक भए पनि नेट रनरेटमा सुदूरपश्चिम भन्दा पछाडि छ ।
आजै भएको खेलमा विराटनगर किंग्सले साविक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले हराएको थियो । एनपीएलमा मंगलबार काठमाडौँ गोर्खाज् र लुम्बिनी लायन्स भिड्दैछन् ।


























































