काठमाडौँ – काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० फ्रेन्चाइज्ड क्रिकेट प्रतियोगितामा काठमाडौँ गोर्खाजले दोस्रो जित हात पारेको छ । काठमाडौँले मंगलबार लुम्बिनी लायन्सलाई २२ रनले हराएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँले टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी १९.१ ओभरमा सबै विकेट गुमाउँलै १३५ रनमै समेटिएको हो । लुम्बिनीका लागि नवौँ नम्बरमा आएका शेर मल्लले सर्वाधिक २७, विकेट किपर दिलीप नाथले २५ र ओपनर डार्सी सर्टले २२ रन बनाउनुबाहेक अन्य ब्याटरले निराशाजनक प्रदर्शन गरे ।
लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा काठमाडौँका मिलिन्द कुमार र जेरहार्ड इरास्मसले समान २–२ विकेट लिए भने कप्तान करण केसी, साहब आलम, सन्तोष यादव र राशिद खानले समान १–१ विकेट लिए ।
यसअघि काठमाडौँलाई प्रतिस्पर्धात्मक स्कोरतर्फ डोर्याउने क्रममा कप्तान करण केसीले आक्रामक ब्याटिङ गरे । सोक्रममा उनले ११ बलमा १ चौका र ४ छक्का ठोक्दै नटआउट सर्वाधिक ३४ रन बनाए । १९औँ ओभरमा लुम्बिनीका रुबेन ट्रम्पलमेनलाई ३० रन ठोकेका थिए ।
यस्तै आकाश त्रिपाठीले ३६ बलमा ३ चौकाको मदतमा ३२ रन हाने भने सन्तोष यादव २६, मिलिन्द कुमार र जेरहार्ड इरास्मसले समान १७ १७ रन बनाए भने राशिद खान १४ रनमा आउट भए ।
बलिङतर्फ लुम्बिनीका शेयर मल्ल, रुबेन ट्रम्पलमेन, कप्तान रोहित पौडेल र गुलबादिन नैवले समान २–२ विकेट लिए । एनपीएलमा भोलि विराटनगर किंग्स र चितवन राइनोजबीच भिडन्त हुँदैछ ।


























































