धनुषा – भारतले आफ्ना पन्ध्र वटा धार्मिक स्थललाई जोड्ने संकल्पसहित तयार पारेको ‘रामायण सर्किट’ अवधारणामा जनकपुर पनि समेटिएको छ ।


ADVERTISEMENT


दुई दिने नेपाल भ्रमणका लागि जनकपुरमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले संयुक्त रुपमाले उक्त सर्किटको उद्घाटन गरेका हुन् । आफूले पाएको सम्मान सवा सय करोड भारतीयको सम्मान भएको भन्दै मोदीले रामायण सर्किटले अब दुई देशका करोडौं हिन्दू धर्मावलम्बीलाई जोड्ने विश्वास व्यक्त गरे ।


ADVERTISEMENT

# # #


त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलंकाका धार्मिक स्थललाई एउटै मार्गले जोड्नु नै ‘रामायण सर्किट’को अवधारणा हो । रामले स्वयंवरका लागि जनकपुर आउँदा र विवाहपछि सीतासहित अयोध्या फर्किंदा प्रयोग गरेको मार्गमा रहेका तीर्थस्थलको विकासमा महत्वपूर्ण मानिएको छ ।

अन्तर्राष्ट्रिय पर्यटक तान्ने उद्देश्यले भारतले सन् २०१४/१५ को बजेटमै ‘रामायण सर्किट’को अवधारणा प्रस्ताव गर्दै भारत, नेपाल र श्रीलंकाका राम र सीतासँग सम्बन्धित धार्मिक स्थललाई जोड्ने योजना सार्वजनिक गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन् २०१४ मा भएको नेपाल भ्रमणका क्रममा जनकपुर र अयोध्यालाई जोड्ने सहमति भएअनुसार भारतले ‘रामायण सर्किट’ जनकपुरसम्म विस्तार गरिएको हो ।

भारतको अयोध्या, सीतामढी, दरभंगा, नन्दीग्राम, महेन्द्रगिरी, छत्तीसगठ, तेलंगना, तमिलनाडु, कर्नाटक, महाराष्ट्र र नागपुरलाई जोड्ने रामायण सर्किट जनकपुरसम्म विस्तार दुवै देशमा हुँदा धार्मिक पर्यटन प्रवद्र्धन हुने विश्वास छ । राम र सीताको पाइला परेको दुवै देशका क्षेत्रलाई समेटेर त्यो मार्गमा पूर्वाधार विकास गर्नु नै रामायण सर्किटको मुल लक्ष्य हो । दस हजार करोड लागत अनुमान गरिएको रामायण सर्किटका लागि भारत सरकारले पहिलो चरणमा २ सय ४५ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

सडक र रेल सञ्जालले जोडिने रामायण सर्किट योजनाअन्तर्गत रामायणकालीन स्थलमा कृषि, औद्योगीकरण र पर्यटनका पूर्वाधार तयार पारिनेछ । पुराना र लोप हुने अवस्थामा रहेका मठ–मन्दिरको जिर्णोद्वार गरिने छ ।

रामायण सर्किटअन्तर्गत हरेक वर्ष भारतको अयोध्यामा जनकपुर र जनकपुरमा अयोध्या महोत्सव गर्ने प्रस्ताव छ । महोत्सवमा राम र सीताको जीवनीमा प्रकाशित ग्रन्थ, पान्डुलिपि, हस्तशिल्प, कला, स्थानीय भोजन र वेशभूषा प्रदर्शन गरिनेछ । यसले ६ सय ५० किलोमिटरको दूरीमा रहेको जनकपुर र अयोध्यालाई धार्मिक–सांस्कृतिक रुपमा थप नजिक्याउने अपेक्षा छ ।

रामायण सर्किटले हाललाई नेपाल र भारतको धार्मिकस्थललाई जोडे पनि श्रीलंका भने रावणले राज्य गरेको आफ्नो सहर नुवारा एलियालाई पनि सर्किटमा जोड्नु पर्ने पक्षमा छ । रामायण सर्किटले नेपाल, भारत र श्रीलंकाका रामायणकालीन स्थललाई जोड्दा धार्मिक पर्यटन प्रवद्र्धन हुने देखिए पनि महत्वकांक्षी यो अवधारणा पूरा हुनेमा भारतभित्रै आशंका गरिएको छ ।