काठमाडौँ– आफ्नो दुई दिने नेपाल भ्रमणका लागि नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं उत्रिएका छन् । शुक्रबार बिहान नयाँ दिल्लीबाट जनकपुर आइपुगेका मोदी जानकी मन्दिरमा पूजा गरेर नागरिक अभिनन्दनपछि अपरान्ह काठमाडौं आएका हुन्।


ADVERTISEMENT


उनी जनकपुरबाट एअर इन्डियाको जहाज चढेर काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रिएका छन्। विमानस्थलमा उनलाई परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले स्वागत गरेका छन्। मोदी झण्डै चार वर्षपछि नेपाल भ्रमणमा आएका हुन् । उनी यसअघि सन् २०१४ मा भएको १८औँ सार्क शिखर सम्मेलनमा भाग लिन काठमाडौँ आएका थिए । यो उनको तेस्रो भ्रमण हो ।


ADVERTISEMENT

# # #


विमानस्थलबाट मोदी चुच्चेपाटीस्थित हायात होटल जाने कार्यक्रम छ । होटलमा केहीबेर आराम गरेपछि मोदी सैनिक मञ्च टुँडिखेलमा हुने गार्ड अफ रनरका लागि सरिक हुने छन्। मोदीले भ्रमण अवधिमा राजनीतिक भेटघाट र तीर्थाटन गर्ने छन् ।

यसअघि मोदीले जनकपुरको जानकी मन्दिरमा पूजाआजा गरेका थिए। जनकपुर उपमहानगरपालिकाले मोदीलाई नागरिक अभिनन्दन गरेको थियो।

अभिनन्दन समारोहमा बोल्दै सम्बोधनमा नेपाल बिना भारतको इतिहास, आस्था र विश्वास अधुरो हुने बताएका छन्। जनकपुर उपमहानगरपालिकाले गरेको नागरिक अभिनन्दन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालबिना भारतको हरेक क्षेत्र अधुरो रहेको बताए।

‘नेपाल बिना भारतको आस्था अधुरो हुन्छ, विश्वास अधुरो हुन्छ र इतिहास अधुरो हुन्छ,’ मोदीले भने, ‘नेपालबिना भारतका धाम पनि अधुरा हुन्छन्, राम पनि अधुरा हुन्छन्।’

सम्बोधनको सुरूमा हिन्दीमा बोलेका मोदीले केहीबेर मैथिलीमा बोलेका थिए। सम्बोधनका क्रममा उनले नेपाली भाषामा पनि बोलेका थिए।

सुरुमा उनले सन् २०१४ आउँदा पनि आफूले संसदमा छिटै जनकपुर आउँछु भनेको उल्लेख गरे। ढिला भएकोमा उनले क्षमा पनि मागे।

‘म त्यतिबेला नै आउन चाहन्थें, तर विभिन्न कारणले आउन पाइनँ। ढिला भएकोमा म क्षमा चाहन्छु,’ मोदीले भने, ‘जानकी माताको दर्शन गर्ने माग मेरो कामना पूरा हुँदा आज गौरवान्तित भएको छु।’

उनले यसपालि आफू प्रधानमन्त्रीका रूपमा नभई प्रधान तीर्थयात्रीका रूपमा नेपाल भ्रमणमा आएको बताए। ४५ मिनेट लामो भाषणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतका सुख दुःख साझा भएको बताए। ‘हाम्रो आशा पनि समान छ, सपना पनि समान छ, हाम्रो मन पनि समान छ, मन्दिर पनि समान छ,’ मोदीले भने।

उनले नेपाल भारतको सम्बन्ध कुनै राजनीतिका आधारमा नभई देवनीतिमा आधारित भएको बताए। मोदीले दुबै देशले एकअर्कालाई संकट पर्दा मिलेर सामना गरेको उल्लेख गरे।

‘जो मित्रको दुस्खमा दुखी हुँदैन, उसलाई देख्दा पाप लाग्छ, आफ्नो दुस्ख पहाडजत्रो छ भने पनि महत्व नदेऊ तर मित्रको सानो दुस्खलाई पनि पर्वतजत्रो मानेर जे गर्नु सकिन्छ, त्यो गर्नुपर्छ,’ मोदीले भने।

उनले नेपाल विकासको नयाँ चरण प्रवेश गरेको उल्लेख गर्दै तीनै तहको चुनाव सम्पन्न गरेकोमा बधा चुनावबाट सरकार बनायौ। एक वर्ष तीन चुनाव सफलताको बहुत बधाइ पनि दिए।

‘नेपालको इतिहासमा पहिलो पटक सातै प्रान्तमा सरकार बनेका छन्। यो नेपालका लागि मात्र नभई ‍भारतलगायत सबैलाई गर्वको विषय हो,’ मोदीले भने, ‘१० वर्ष पहिले बुलेट छोडेर ब्यालेटको बाटो चुने। युद्धबाट बुद्धसम्मको यात्राका लागि बधाई दिन्छु।’

उनले नेपाल र भारत हिमाल, नदी र तराईका फाँटले जोडिएकोमा अब राजमार्ग, सूचना प्रविधि, प्रसारण लाइन, रेल, हवाइ सेवा र जलमार्गबाट जोडिनु पर्ने बताए।

‘यीसँगै अब हामी अन्तरिक्षामा पनि आपसमा जोडिनुछ,’ मोदीले भने।