काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले पहिलो पटक उपाधि जितेको हो । यससँगै सुदूरपश्चिम लगातार दोस्रो पटक पनि उपविजेतामै सीमित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्सले खराब ब्याटिङ गर्दै १९.१ ओभरमा सबै विकेट गुमाउदै ८५ रन मात्रै बनायो ।
८६ रनको सामान्य चुनौती पच्छ्याएको लुम्बिनीले आक्रामक ब्याटिङ देखाउँदै ९ ओभरमै ४ विकेट गुमाएर जित हात पारेको हो । लुम्बिनीलाई उपाधि जिताउने क्रममा ओपनर दिनेश अधिकारीले शानदार ब्याटिङ गरे । उनी १३ बलमा ५ छक्का र १ चौकासहित ४२ रनमा आउट भए । त्यसक्रममा उनले उनले पहिलो ओभरमै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीविरुद्ध ६ छक्कासहित २७ रन ठोके ।
डार्सी सटले १४ तथा कप्तान रोहित पौडेलले १२ बलमा २ चौका तथा १ छक्कासहित १६ रन बनाए भने निरोशन डिक्वेल्लाले ११ रन बनाएर बनाएर नटआउट रहे ।
बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए । कप्तान दीपेन्द्रसिंह ऐरी र अविनाश बोहराले समान १–१ विकेट हात पारे ।
यसअघि सुदूरपश्चिमका लागि ईशान पाण्डेले सर्वाधिक ३३ रन जोडे । उनले ५१ बलमा एक चौकाको सहयोगमा ३३ रन जोडेका हुन् । यस्तै, कप्तान दिपेन्द्रसिंह ऐरीले १३ रन बनाए भने हरमीत सिंह र स्कट कुगेलिइनले समान १०र १० रन जोड्न सके । त्यसबाहेक अन्य ब्याट्सम्यानहरूले दोहिरो अङ्कमा रन जोड्न सकेनन् ।
लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । उसका लागि शेर मल्ल, रुबेन ट्रम्पेलमान र कप्तान रोहित पौडेलले समान ३–३ विकेट हात पारे । त्यसक्रमा ट्रम्पलमेनले २.१ ओभरमा ३ रन मात्रै खर्चि भने कप्तान रोहितले ४ ओभरमा १२ र शेर मल्लले ४ ओभरमा १८ रन खचिए । यस्तै, तिलक भन्डारीले १ विकेट लिए ।
सुरुको खेल जितेर त्यसपछिका ३ खेल लगातार हारेपछि लुम्बिनी गर या मरको अवस्थामा रहेको थियो । तर सानदार कमब्याक गरेको लुम्बिनीले त्यसपछिका ६ वटै खेल जित्दै पहिलो पटक ट्रफी हात पारेको हो ।



























































