काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका निर्वाचन क्षेत्रबाट काँग्रेसका उम्मेवारका नाम सिफारिसका हुने क्रम बढेको छ । यससँगै सुदूरपश्चिम प्रदेशबाट सबै ठाउँमा पुराना अनुहार सिफारिस भए पनि बझाङमा भने यसपटक नयाँ अनुहार आउने पक्कापक्की भएको छ ।
नेपाली कांग्रेस बझाङले जेन–जी पुस्ताको सशक्त प्रतिनिधित्व गर्ने युवा तथा योग्य नेता दिपेन्द्र जोशीलाई सर्वसम्मत रूपमा सिफारिस गरेको हो । जोशीको नाम सिफारिस भएसँगै नेपाली काँग्रेस बझाङमा नेताकार्यकर्ताको उत्साह बढेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएपछि नेता दिपेन्द्र जोशीले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन्। उनले आजै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवास पुगेर भेटवार्ता गरेका थिए ।
त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विषयमा विद्यावारिधि गरिरहेका जोशी त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघका पूर्वसचिव रहिसकेका छन्। अध्ययन, अनुसन्धान र व्यवहारिक राजनीतिक अभ्यासलाई सँगसँगै अघि बढाइरहेका जोशीले ज्ञान र नेतृत्वको संयोजनलाई आफ्नो राजनीतिक पहिचान बनाएका छन्।
विद्यार्थी हक–हितका मुद्दा, संगठन विस्तार, नीति संवाद र पार्टीगत अभियानमा लामो समयदेखि क्रियाशील रहँदै आएका उनले कांग्रेसभित्र स्थायित्वसहितको प्रभावशाली पहिचान बनाएका छन्।
नेपाली काँग्रेसबाट उम्मेदवार बन्दा बझाङमा काँग्रेसका गर्विलो विरासत फर्किने कार्यकर्ताको विश्वास छ ।



























































