काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालबीच एकताको सहमति भएको छ ।
बुधबार राप्रपा पार्टी कार्यालय धुम्वाराहीमा राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् ।
दुई पार्टीबीच एकता घोषणा सभा भने पौष १६ गते राष्ट्रिय सभागृहमा हुने राप्रपाले जनाएको छ । एकताको सहमतिपत्रमा हस्ताक्षर गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले परिवर्तित सन्दर्भ र शुभेच्छुको सुझाव, दबाबलाइ ध्यानमा राखेर विगतका कमी कमजोरी नहोदरिने गरी एक हुने निर्णय गरेको बताए । उनले राष्ट्रवादी शक्तिहरुलाई एकतामा आउन आह्वान समेत गरे ।
त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले समय र परिस्थीतिले एकै ठाँउ आउने अवस्था बनेको भन्दै विगतका कमिकमजोरीबाट पाठ सिक्दै पार्टीलाई अघि बढाउने बताए । उनले चुनाव भन्दा अघि भ्रष्टाचार र कुशासनको अन्त्यका लागि उपयुक्त तयारी गर्न सकेमात्रै चुनावको अर्थ हुने उल्लेख गरे ।
चार वर्षअघि भएको महाधिवेशनमा राप्रपाको अध्यक्ष पदमा लिङ्देनसंग पराजित भएपछि थापाले पार्टी छाडेर राप्रपा नेपाल गठन गरेका थिए ।



























































