सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका–६, मा बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता तथा स्वास्थ्य मन्त्री किरण थापा मगरको विशेष आतिथ्यतामा सिन्धुली अस्पतालको नयाँ भवनको समुद्घाटन सम्पन्न भएको छ ।
करिब २७ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको अस्पतालमा नेपालकै पहिलो इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीको औपचारिक सुरुवात गरिएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले बागमती प्रदेशका १३ वटै जिल्लामा रहेका अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्न भौतिक पूर्वाधारसँगै गुणस्तरीय, विश्वसनीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक जनशक्ति, उपकरण तथा औषधिको व्यवस्था मिलाउँदै आएको बताए । आवश्यक परे थप व्यवस्था गर्न प्रदेश सरकार सधैं तयार रहेको प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
मुख्यमन्त्री बानियाँले हाल ५० शैयाको रूपमा सञ्चालन भइरहेको अस्पताललाई १०० शैयामा विस्तार गर्न आवश्यक थप भवन निर्माणका लागि करिब ५० लाख रुपैयाँ र अन्य आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले तत्काल बजेट व्यवस्था गर्ने जानकारी दिए । जनताको स्वास्थ्य प्रदेश सरकारको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै उनले तीनै तहका सरकार जनताकै सरकार भएको बताए । गणतन्त्र गरिबको व्यवस्था भएको भन्दै गरिबलाई सेवा, आय, न्याय र विकास प्रदान गर्नु राज्यको मूल धर्म भएको उनको भनाइ थियो ।
उनले हाल चिकित्सकहरूले असुरक्षाको महसुस गरिरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै असुरक्षित वातावरणमा गुणस्तरीय सेवा सम्भव नहुने बताए । स्वास्थ्यकर्मीले जिम्मेवार भएर काम गर्न सक्ने वातावरण सिर्जना गर्नु जनताको पनि दायित्व भएको उल्लेख गर्दै जनता र स्वास्थ्यकर्मीबीच आपसी विश्वास र सहकार्य भएमा मात्र सेवा प्रभावकारी हुने धारणा राखे । यस्तो अवस्थामा प्रदेश सरकार मन्त्रालयमार्फत आवश्यक सहजीकरण गर्न तयार रहेको उनले बताए ।
मुख्यमन्त्री बानियाँले अस्पतालसँगै व्यवस्थित शहर र नगर निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताए । दुई नगरपालिका र सात गाउँपालिकामा सबै जनताले आफ्नो क्षमता अनुसार सेवा सुनिश्चित गर्न सक्ने गरी प्रदेश सरकारको लगानी निरन्तर रहने उनले स्पष्ट पारे । साथै, मुख्यमन्त्रीसँग जोडिएका स्वास्थ्य कार्यक्रमअन्तर्गत नसर्ने रोग नियन्त्रणजस्ता कार्यक्रमहरू बागमती प्रदेश सरकारले अघि बढाएको जानकारी दिए ।
नवनिर्मित सिन्धुली अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुनेमा विश्वास व्यक्त गर्दै मुख्यमन्त्री बानियाँले बागमती प्रदेशका ११९ वटा पालिकाका नागरिकलाई १३ वटै जिल्ला अस्पतालमार्फत गुणस्तरीय सेवा प्रदान गर्नु प्रदेश सरकारको दायित्व भएको बताए । आवश्यक चिकित्सक, औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउने जिम्मेवारी प्रदेश सरकारको रहेको उल्लेख गर्दै स्थानीय सरकारलाई पनि जिम्मेवारीपूर्वक सहकार्य गर्न आग्रह गरे ।































































