काठमाडौं– धुलिखेल अस्पतालको ३० औँ वार्षिकोत्सव कार्यक्रम बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले व्यवस्था परिवर्तनसँगै जनताको आवश्यकता पनि परिवर्तन भएको उल्लेख गर्दै ती आवश्यकताहरू पूरा गर्न विभिन्न क्षेत्रमा सुधार हुँदै आएको बताए। उनले सामुदायिक अस्पतालको रूपमा स्थापना भएको धुलिखेल अस्पतालले उल्लेखनीय प्रगति गरेको प्रशंसा गरे।
मुख्यमन्त्री बानियाँले संघीयता कार्यान्वयनसँगै धुलिखेल अस्पताललाई संघीय सरकारसँग जोड्ने आवश्यक प्रक्रिया तत्कालै तयार गरिएको जानकारी दिए। उनले धुलिखेल अस्पताललाई स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा विकास गर्न प्रदेश सरकार अगाडि बढिसकेको समेत बताए।
गरीब तथा विपन्न वर्गप्रतिको धुलिखेल अस्पतालको योगदानको उच्च मूल्यांकन गर्दै मुख्यमन्त्री बानियाँले कुनै पनि कानुनी बाधा–अड्चन तोडेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सो कार्य दुई महिनाभित्र सम्पन्न गरिने विश्वास दिलाए।
उनले बागमती प्रदेशलाई सबै क्षेत्रमा अब्बल बनाउने लक्ष्य रहेको उल्लेख गर्दै स्वास्थ्य र शिक्षा मानव जीवनका आधारभूत आवश्यकता भएको बताए।
कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्व, स्वास्थ्यकर्मी, कर्मचारी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।






























































