धनगढी– मासिक पढाइ शुल्कको विषयलाई लिएर उत्पन्न विवादका कारण झन्डै दुई हप्तादेखि बन्द रहेका कैलाली जिल्लाका निजी विद्यालयमा आजबाट पठनपाठन सञ्चालन भएको छ ।


ADVERTISEMENT


जिल्ला शिक्षा अधिकारीको संयोजकत्वमा रहेको शुल्क निर्धारण समितिले मासिक पढाइको नयाँ शुल्क निर्धारण गरेसँगै भएको सहमति बमोजिम आजबाट विद्यालयमा पठनपाठन सञ्चालन भएको निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) कैलालीका अध्यक्ष डिल्लीराज रेग्मीले बताए ।


ADVERTISEMENT

# # #


पढाइ शुल्क निर्धारण समितिको मङ्गलबारको बैठकले महानगरपालिका क्षेत्रका विद्यालयको हकमा प्रावि तहको रु एक हजार ४५०, निमावि तहको रु एक हजार ९५० र मावि तहको रु दुई हजार ४०० सम्म, गाउँपालिका र नगरपालिका क्षेत्रका विद्यालयको हकमा प्रावि तहको रु एक हजार २००, निमावि तहको रु एक हजार ६०० र मावि तहको रु एक हजार ९०० मासिक पढाइ शुल्क निर्धारण गरिएको शुल्क निर्धारण समितिका संयोजक एवम् जिल्ला शिक्षा अधिकारी मानसिं विष्टले बताए ।

प्रत्येक तीन/तीन वर्षमा पढाइ शुल्क निर्धारण गर्नुपर्ने भए पनि शुल्क निर्धारण समितिले विसं २०६९ देखि शुल्क निर्धारण गर्न सकेको थिएन । समितिले शुल्क निर्धारण नगर्दा कतिपय विद्यालयले आफूखुसी ढङ्गले विद्यार्थीबाट मासिक शुल्क लिँदै आएका थिए ।

यसअघि नयाँ शैक्षिकशत्रको सुरुवातसँगै विद्यार्थी सङ्गठनले निजी विद्यालयले पढाइ शुल्क वृद्धि गरेको भन्दै शुल्क वृद्धि फिर्ता गर्नुपर्ने मागसहित विगत एक हप्तादेखि विद्यालयमा पठनपाठन ठप्प गराएका थिए । यस क्रममा विद्यार्थी सङ्गठनले विद्यालयमा तालाबन्दी, विद्यालय बन्द, तोडफोडजस्ता व्यवहारसमेत देखाएका थिए ।

विद्यार्थी सङ्गठनका प्रतिनिधि र शिक्षा कार्यालयका बीच पढाइ शुल्कलगायतका विषयमा सहमति भएर विद्यालय बन्दका कार्यक्रम फिर्ता लिए पनि यो सहमतिको विरोधमा निजी विद्यालयका सञ्चालकले तीनदिन विद्यालय बन्द गराएका थिए ।

पढाइ शुल्क वृद्धि गर्न नपाइने र शुल्क वृद्धि गर्ने विद्यालयको दर्ता खारेजी गर्ने, विद्यालयमा कार्यरत शिक्षकलाई पूरा पारिश्रमिक दिनुपर्नेखालको सहमति शिक्षा कार्यालय र विद्यार्थी सङ्गठनका प्रतिनिधिबीच भएकाले आफूहरुले यस्तो सहमतिको विरोध गर्नु परेको प्याब्सनका अध्यक्ष रेग्मी बताउँछन् ।

  • जिल्लाका निजी विद्यालयले गुणस्तरीय शिक्षा दिने भन्दै विभिन्न शीर्षकमा विद्यार्थीबाट शुल्क असुल गर्ने प्रवृत्ति हट्न सकेको छैन । कैलाली जिल्लामा झन्डै ३४० वटा निजी विद्यालय रहेकामा यी विद्यालयमा झन्डै एक लाख विद्यार्थीले अध्ययन गरिरहेको बताइएको छ ।