काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको बताएकी छन् ।
तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्ले मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजना गरेको तमु ल्होसार महोत्सवमा प्रधानमन्त्री कार्कीले विभिन्न परिस्थितिबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको बताएकी हुन् । त्यसको मुख्य आधार भनेको स्वच्छ र निष्पक्ष निर्वाचन नै भएको उनले बताइन् ।
आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण देशभरि बन्दै गएको भन्दै प्रधानमन्त्री कार्कीले दलहरुका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस भएको धारणा राखिन् ।
उनले निर्वाचन सम्पन्न गर्ने दिशामा नयाँ कोशेढुंगा पार गरेको भन्दै निर्वाचन प्रक्रियामा पनि उत्साहका साथ सवै पक्ष सामेल हुने विश्वास सरकारको रहेको उल्लेख गरिन् । सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराखेको उनको भनाइ छ । प्रधानमन्त्री कार्कीले मुलुकले अब थप अस्थिरता नभइ स्थीरता र विश्वास चाहेकाले सबै मिलेर शान्ति, एकता र समृद्धिको मार्गमा अघि बढ्नुको विकल्प नरहेको बताइन् ।
त्यस्तै प्रधानमन्त्री कार्कीले तमु ल्होसारजस्ता पर्वहरूले आफ्नो मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ बलियो बनाउन प्रेरित गरेको बताइन् ।


























































