सुदूरपश्चिम प्रदेशको दुर्गम पहाडी जिल्ला बझाङ अन्तर्गत छबिसपाथिभेरा गाउँपालिका–४ मा जन्मिएका दिपेन्द्र राज जोशी आज शिक्षा, सामाजिक अभियान, वातावरणीय नीति र लोकतान्त्रिक राजनीतिमा सक्रिय र चिनिन थालेका युवा व्यक्तित्वका रूपमा स्थापित छन्। सामान्य पारिवारिक पृष्ठभूमिमा जन्मिएर पनि असाधारण पहिचान निर्माण गर्न सकिन्छ भन्ने उदाहरण उनी स्वयं हुन्। पिता चित्रराज जोशी र माता धनलक्ष्मी जोशीको सादगीपूर्ण जीवनशैली, अनुशासन र श्रम संस्कारले उनलाई प्रारम्भदेखि नै आत्मनिर्भर, अनुशासित र लक्ष्यप्रति प्रतिबद्ध बनायो।
जोशीको शैक्षिक यात्रा भगवती प्राथमिक विद्यालय, झुतेराबाट सुरु भई शान्ति उच्च माध्यमिक विद्यालय, ब्यासी हुँदै उच्च शिक्षातर्फ अघि बढ्यो। विज्ञानप्रतिको रुचि र अनुसन्धानमुखी सोचका कारण उनले सूक्ष्मजीवशास्त्रमा B.Sc. अध्ययन पूरा गरे। त्यसपछि पूर्ण छात्रवृत्तिमा Environmental Science मा M.Sc अध्ययन सम्पन्न गरी हाल सोही विषयमा PhD अध्ययन गरिरहेका छन्। बझाङजस्तो पछाडि परेको जिल्लाबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको शैक्षिक यात्रामा अघि बढ्नु आफैंमा प्रेरणादायी उपलब्धि हो, जसले ग्रामीण भेगका युवालाई ठूलो सन्देश दिन्छ।
पेशागत जीवनको सुरुवात उनले आफ्नै बालशिक्षा अध्ययन गरेको विद्यालयमा दुई वर्ष अध्यापन गरेर गरे। शिक्षासँगै खेलकुदमा पनि सक्रिय जोशी सुदूरपश्चिम प्रदेशबाट ह्यान्डबल खेलमा छनोट भई राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन्। यो अनुभवले उनको अनुशासन, टोली भावना र नेतृत्व क्षमतामा थप परिपक्वता ल्यायो।
नेतृत्व विकासका क्षेत्रमा उनले त्रि–चन्द्र क्याम्पसमा School of Democracy का सचिव, नेविसंघ त्रि–चन्द्र क्याम्पस सचिव तथा नेपाली कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधिको जिम्मेवारी सम्हाल्दै संगठनात्मक क्षमता प्रदर्शन गरेका छन्। सामाजिक क्षेत्रमा उनी नेपाल युवा संस्था सञ्जालका उपाध्यक्षका रूपमा युवा परिषद् स्थापना, भूकम्पपीडितका लागि आवास निर्माण र नीतिनिर्माण प्रक्रियामा सक्रिय रहे। साथै नेपाल वातावरण समाजका कार्यकारिणी सदस्यका रूपमा वातावरणीय नीति, अनुसन्धान, परिक्षण तथा विभिन्न राष्ट्रिय राजनीतिक दलका घोषणापत्र निर्माणमा सुझाव–परामर्श दिँदै आएका छन्।
मानवता र साहसको उच्च उदाहरणस्वरूप बंगलादेशमा मानव बेचबिखनमा परेका सात नागरिकलाई सुरक्षित उद्धारमा सहयोग पुर्याएको योगदानका लागि बंगलादेश सरकारबाट सम्मानित हुनु उनको अन्तर्राष्ट्रिय स्तरको उल्लेखनीय उपलब्धि हो। बझाङबाट काठमाडौंसम्म आफ्नै क्षमता, परिश्रम र दृढताका साथ अघि बढेका दिपेन्द्र राज जोशी आज लोकतान्त्रिक मूल्यमा अडिग, सामाजिक उत्तरदायित्वमा प्रतिबद्ध र भविष्यको सम्भावनाशील युवा नेतृत्वका रूपमा राष्ट्रिय पहिचान निर्माण गर्दै अगाडि बढिरहेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस बझाङले युवा नेता दिपेन्द्र राज जोशीलाई युवा उम्मेदवारको रूपमा सिफारिस गरेको छ। जिल्ला कार्यसमितिको निर्णयअनुसार जोशीको नाम केन्द्रमा पठाइएको पार्टीले जनाएको छ।
सुदूरपश्चिमका अन्य जिल्लामा पुराना अनुहार दोहोरिँदै गर्दा बझाङमा भने जेन–जी पुस्ताको प्रतिनिधित्व गर्ने नयाँ नेतृत्व अघि सारिएको छ। यसलाई नेपाली काँग्रेसभित्र पुस्तान्तरण र युवाको सहभागिता सुदृढ गर्ने प्रयासका रूपमा लिइएको छ । जोशीको नाम सिफारिस भएसँगै नेपाली काँग्रेस बझाङमा नेताकार्यकर्ताको उत्साह बढेको छ ।


























































