खैरहनी — बागमती प्रदेश सरकारबाट विनियोजित ५ करोड ८५ लाख रुपैयाँको बजेटमा निर्माण गरिएको इलाका प्रहरी कार्यालय खैरहनी, चितवनको नवनिर्मित कार्यालय भवन, ब्यारेक, भान्छाघर तथा कम्पाउण्ड वालको बुधबार समुद्घाटन गरिएको छ।
समुद्घाटन कार्यक्रम माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता तथा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय शिवराज अधिकारीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजनीतिक परिवर्तनका नाममा विगतमा प्रहरी कार्यालय तथा सार्वजनिक–निजी सम्पत्तिमाथि आक्रमण हुनु दुःखद् र दुर्भाग्यपूर्ण भएको बताए। उनले सशस्त्र विद्रोहदेखि हालैको जेनजी आन्दोलनसम्म प्रहरीका भवन जलाइएका घटनाप्रति चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिले समाजमा भ्रम सिर्जना गर्ने बताए।
उनले भने, “प्रहरी सबैको साझा संस्था हो। प्रहरी जनताको साथी हो। प्रहरीप्रतिको भरोसा निरन्तर कायम रहनुपर्छ।” आन्दोलनका क्रममा नियम–कानूनको दायरामा रहेर काम गर्ने प्रहरीलाई आक्रोशको कारण घटनामा तानिनु स्वाभाविक भए पनि भविष्यमा यस्ता घटना नदोहोर्याउन सबै राजनीतिक दलले संकल्प गर्नुपर्नेमा उनले जोड दिए।
मुख्यमन्त्री बानियाँले खैरहनीमा निर्माण भएको प्रहरी भवनको प्रभावकारी सञ्चालनका लागि आवश्यक कम्प्युटरलगायत सम्पूर्ण सामग्री प्रदेश सरकारले आवश्यक परेको अवस्थामा व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।
उनले भने बागमती प्रदेश सरकारले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रदेश प्रहरीका लागि ३० वटा मोटरसाइकल, उपत्यकाका प्रहरीका लागि ३० वटा र ट्राफिक प्रहरीका लागि २५ वटा मोटरसाइकल उपलब्ध गराउने निर्णय गरी प्रक्रिया अगाडि बढाइसकेको छ।
त्यस्तै, जेनजी आन्दोलनका क्रममा जलेका प्रहरी भवनहरू तत्काल निर्माण गर्न अर्थ मन्त्रालयमार्फत १० देखि २० लाख रुपैयाँसम्मको बजेट व्यवस्थापनको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।
कार्यक्रमको अन्त्यमा उनले प्रहरी कुनै पार्टी वा व्यक्तिको नभई देश, प्रदेश र समाजको भएको उल्लेख गर्दै नागरिकप्रति जवाफदेही, पारदर्शी र जिम्मेवार भएर काम गर्ने प्रहरीलाई सबैले सहयोग गर्नुपर्ने बताए।































































