काठमाडौं– नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुले पार्टीको विधान बमोजिम पौष २७ र २८ गते विशेष महाधिवशेन गर्न माग गरेका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टीको पूर्वघोषित नियमित महाधिवेशनका कार्यतालिकाका कार्यक्रम स्थगीत भइसकेको अवस्थामा विधान बमोजिम पौष २७ र २८ गते विशेष महाधिवशेन गर्न माग गरेका हुन् ।
असोज २९ गते विधान बमोजिम देशभरका ५४ प्रतिशतभन्दा बढि महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दैै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका थिए । विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकारले पौष २७ र २८ गते विशेष महाधिवशेन गर्न माग गरिएको कांग्रेस महाधिवेशन प्रतिनिधि सुवास पोखरेलले बताए ।
विशेष महाधिवशेनको माग कसैको जित र हारको रूपमा नलिई पार्टीको एकता कायम राख्न तथा पार्टीको आन्तरिक लोकतन्त्र जोगाउँदै जनताप्रति जवाफदेही बन्ने अवसरको रूपमा ग्रहण गर्नुपर्ने उनले उल्लेख गरे । उनले हस्ताक्षर बुझाएको तीन महिनाभित्रै विशेष महाधिवशेन गर्नुपनेृ विधानको बाध्यकारी व्यवस्थानको पालना गर्नु पार्टी नेतृत्वको जिम्मेवारी भएको बताए ।
पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य देवराज चालिसेले विधानमा भएको व्यवस्था अनुसार आफुहरुले विशेष महाधिवशेन माग गरेको भन्दै नेतृत्वले त्यसलाई स्वीकार गर्ने बताए । उनले अहिले पार्टीलाई एकताबद्ध गर्नुपर्ने भन्दै नेतृत्वबाट पार्टीलाई कमजोर बनाउने काम नहुने जिकिर गरे । लोकतन्त्रमा विधि र प्रक्रिया महत्वपूर्ण हुने भएकाले बहुमत वा विधान मान्दिन भन्ने सुविधा कसैलाई नरहेको उनको भनाइ छ ।


























































