काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई ‘डिजिटल हाइवे’मा अगाडि बढाउने गरी काम गरिरहेको बताएका छन् ।


ADVERTISEMENT


‘आइसिटी अवार्ड–२०२५’ का विजेतासँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री खरेलले डिजिटल नेपालका लागि नीतिगत सुधारका काम भइरहेको उल्लेख गरे । सञ्चारमन्त्री खरेलले भने, “डिजिटल नेपालको रोडम्याप बनाएर मुलुकलाई अगाडि बढाउन खोजिरहेका छौँ, त्यसको भविष्य भनेको तपाँइ सूचना प्रविधिको क्षेत्रमा नवीनतम सिर्जना र योगदान गरिरहेका व्यक्ति तथा संस्था नै हो ।”


ADVERTISEMENT

# # #


मन्त्री खरेलले सूचना प्रविधि क्षेत्रको विकासका लागि सम्बन्धित मन्त्रालयसम्म जोडिनका लागि पुलको भूमिका निर्वाह गर्न सम्पर्क मन्त्रालयको रूपमा सञ्चारमन्त्रालयले भूमिका खेल्ने विश्वास दिलाए । उनले सूचना प्रविधिको विकासका लागि बजेट पर्याप्त नभएको, नीतिगत उल्झनका साथै भएका नीतिको कार्यान्वयनमा सिथिलताका कारण यस क्षेत्रको यथोचित विकास र प्रगति हुन नसकेको उल्लेख गरे।

सरकार गठन भएको तीन महिनाभित्रै ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति’ पारित गरेको जानकारी गराउँदै मन्त्री खरेलले डिजिटल नेपालको नीतिगत व्यवस्थाका लागि तयारी भइरहेको जानकारी दिए । अवार्ड विजेतासँग मन्त्रालयले अन्तरक्रिया गरेर राज्यले यस क्षेत्रप्रति सम्मान गरेको उनले बताए ।

मन्त्री खरेलले भने, “निजी क्षेत्रबाट कुनै संस्थाको अग्रसरतामा तपाईहरु सम्मानीत हुनुभएको छ, जहाँ सरकार जोडिएकै हुन्छ, त्यसैले यो सम्मान राज्यको सम्मान हो । तपाईहरुको सवाल डेढ घण्टासम्म सुनेर ग्रहण गरेका छौँ ।”

मन्त्री खरेलले सूचना प्रविधिको विकासका साथै डिजिटल नेपाल निर्माणका लागि यस क्षेत्रका विज्ञ सरोकारसँग नवप्रवर्तन, स्टार्टअप, उद्यमशीलता र सूचना प्रविधिको क्षेत्रमा सरकारसँग समन्वय तथा सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिए । उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा सूचना प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गर्न उचित भए पनि आमसहमति नबन्दा यसपटक त्यो सम्भव हुन नसकेको बताए । आगामी निर्वाचन सही नेतृत्व चयन गर्ने उपयुक्त अवसर भएकाले राम्रो नेतालाई सदनमा पठाउन उनको आग्रह थियो ।

आइसिटी फाउण्डेशनका अध्यक्ष राजन लम्सालले स्टार्टप र इन्नोभेसनलाई प्रवद्र्धन गर्ने तथा नेपालको डिजिटल इकोसिस्टमलाई बलियो बनाउने उद्देश्य अनुरुप हरेक वर्ष अवार्डको आयोजना भइरहेको र यसले अन्तरराष्ट्रियस्तरसम्म नेपालमा तथा नेपालीले विकास गरेका प्रविधि, टेक प्रडक्टको विस्तारमा सहयोग पुर्याउनुका साथै युवाहरुलाई प्रोत्साहन र हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उपस्थित विभिन्न विधाका आइसिटी अवार्ड विजेताले डिजिटल नेपालका लागि सूचना प्रविधि क्षेत्रको नीतिगत र संरचनागत सुधार गरिनुपर्नेमा जोड दिए । साथै उनीहरुले डिजिटल नेपालका लागि सरकार र निजी क्षेत्र एवं विज्ञ सरोकारवालाले गर्नसकिने पहलकदमीबारे सुझाव प्रस्तुत गरेका थिए । रासस