काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारी थप गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय बनस्थलीमा आइतबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले दुई उपसभापति, महामन्त्री, सहमहामन्त्री र सह प्रवक्ता पद थप गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । पार्टी एकतापछि आवश्यकताका आधारमा पदाधिकारी थप गर्ने निर्णय भएको उनले बताए ।
बैठकले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई वटा उपसमिति गठन गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्नका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस कार्यदल गठन गरेको छ भने पार्टी एकता तथा समायोजन प्रक्रियालाई सहजीकरण गर्दै निष्कर्षमा पु¥याउने उद्देश्यले पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन कार्यदल गठन गरिएको प्रवक्ता झाले बताए ।
पार्टीले सोमबार काठमाडौंमा एकता समारोह गर्ने र एकता समारोहमा थरुहटका साथै नागरिक उन्मुक्ति पार्टीका नेताहरु रास्वपामा प्रवेश गर्ने प्रवक्ता झाले जानकारी दिए ।



























































